भक्तपुर- पछिल्लो तीन दिनको अवधीमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा दुई जनामा कलेजोको सफल प्रत्यारोपण भएको छ।
गत बिहीबार ५२ वर्षीय कृष्ण बहादुर केसी र शनिबार ५७ वर्षीया कमार राईको कलेजो प्रत्यारोपण भएको हो। केसीलाई उनका २३ वर्षीय छोरा किरण र राईलाई उनकी २१ वर्षीया छोरी प्रतिक्षाले कलेजो दान गरेकी हुन्।
अहिले प्रत्यारोपण गरिएका दुबै जना र प्रत्यारोपणका लागि अंगदान दिनै दुबै जनाको स्वास्थ्य अवस्था सामान्य तथा सुधारोन्मुख भएको अस्पतालका निर्देशक एवं प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताए।
त्यसो त प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्थाको रुपमा आफूलाई अग्रस्थानमा उभ्याएको छ।
यस संस्थाले त्यसबेला अर्थात २२ मंसिर २०७२ मा नेपालमै पहिलो पटक कलेजोको सफलता पूर्वक प्रत्यारोपण गरेको थियो। तर, त्यस यताका झण्डै सात वर्षमा केन्द्रले अपेक्षित प्रत्यारोपण गर्न सकेको थिएन्।
२०७२ साल देखि २०७९ सालसम्म आइपुग्दा केन्द्रमा जम्मा १० जनाको कलेजो प्रत्यारोपण गरेको थियो। तर २०८० साल लागिसकेपछि भने अहिलेसम्म ३ जनाको सफलतापूर्वक प्रत्यारोपण गरेको जनाएको छ।