मलेखु- धादिङ अस्पतालले शुक्रबारदेखि बिरामीलाई निःशुल्क शय्या उपलब्ध गराउन थालेको छ। आईसीयू, एनआईसीयू र क्याबिनबाहेक जनरल वार्डमा रहेका शय्या बिरामीलाई निःशुल्क उपलब्ध गराएको हो।
प्रादेशिक अस्पतालको शय्या शुल्क निःशुल्क गराउने बागमती प्रदेश सरकारको निर्णयानुसार शय्या निःशुल्क गराइएको अस्पतालका सूचना अधिकारी राम रिजालले बताए। दैनिक एक सय रूपैयाँ शुल्क लिँदै आएकोमा अबदेखि निःशुल्क गराइएको उनले जानकारी दिए।
पचास शय्या स्वीकृति रहेको धादिङ अस्पतालले हाल ९० शय्या सञ्चालन गरिरहेको छ। सूचना अधिकारी रिजालका अनुसार अहिले जनरल वार्डमा भएका ७९ वटा शय्या निःशुल्क गरिएको छ। दुई चार दिन अघिदेखि भर्ना भएका बिरामीलाई शुल्क लिइए पनि शुक्रबारदेखि भर्ना भएका बिरामीलाई शय्या निःशुल्क गरिएको रिजालको भनाइ छ।
अब प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमा आठ सय ११ शैय्या निःशुल्क उपलब्ध गराइने प्रदेश मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पुनःस्थापना र फिजियोथेरापी सेवा निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।