गलकोट नगरपालिका गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाका कुल १० स्थानीय तह मध्येको एक हो। वि.सं २०७३ साल फागुन २३ गते पुन:संरचनाका क्रममा साविक दुदिलाभाटी, नरेठाटी, हटिया, हरिचौर, मल्म, काडेबास, पाण्डवखानी र रिघा गाविस समावेश गरी गलकोट नगरपालिकाको स्थापना गरिएको हो। गलकोट नगरपालिकामा १ नगर अस्पताल, ७ स्वास्थ्यचौकी, ३ आधारभूत स्वास्थ्य सेवा केन्द्र २ सहरी स्वास्थ्य केन्द्र रहेका छन।
मिति २०७९-०९-१७ गतेदेखि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी गलकोट नगर अस्पतालको रुपमा सञ्चालन गरीसकेपछि गलकोट नगर अस्पतालमा अनलाइन बिलिङ प्रविधि तथा अनलाइन रेकर्डिङ प्रविधि सञ्चालन गर्नका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा समन्वय गर्दा निर्देशनालयबाट अस्पतालका साथसाथै सबै संस्थामा अनलाइन अभिलेख राख्न मिल्ने गरी गण्डकी प्रदेशमा नै पहिलोपटक पाइलट प्रोजेक्टको रुपमा इलेक्ट्रोनिक हेल्थ इन्फर्मेसन रेकर्डिङ एन्ड रिपोर्टिङ सिस्टम (विद्युतीय स्वास्थ्य सूचना रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली) सफ्टवयर गलकोटबाट सुरु गर्न सकिने योजना बन्यो। तर ल्यापटप, इन्टरनेट लगायतका उपकरणहरु एवं स्वास्थ्यकर्मीलाइ तालिमका लागि आवश्यक बजेट सम्बन्धीत स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने जानकारी प्राप्त भएपछि नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष ज्यूहरु, शाखा प्रमुखहरु लगायतको बैठकबाट गलकोटमा सबै स्वास्थ्य संस्थाको अभिलेखलाई डिजिटलाइजेशन गर्नका लागि गलकोट नगरको तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गर्ने निर्णय भए पश्चात गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यलयको समन्वयमा मिति २०७९।१२।२६ र २७ मा स्वास्थ्यकर्मीहरुलाई तालिम सञ्चालन गरियो र अनलाइन प्लेटफर्मको युजर आइडी र पासवर्ड उपलब्ध गराउने कार्य भयो र २०८० बैशाख १ गते देखि अनलाइन अभिलेख सुरु भयो।
गलकोट नगरपालिका अन्तर्गतका सबै संस्थाहरुमा इन्टरनेट जडान भइसकेको तर केही संस्थाहरुमा ल्यापटपको ब्यबस्था नभएका कारण पालिकाबाट तत्काल ब्यवस्थापन गरी ल्यापटप उपलब्ध गराउनुका साथै २०८० बैशाख देखि असार सम्म सबै स्वास्थ्य संस्थालाई अनलाइन अभिलेख तथा रजिष्टरको पनि प्रयोग गर्नका लागि सुझाइयो। यो अवधीमा सबै स्वास्थ्यकर्मी सफ्टवयर संग फेमिलियर हुने मौका पाउनुभयो जसले गर्दा २०८० श्रावण १ गते देखि सबै संस्थामा अनलाइन अभिलेख पूर्ण रुपमा लागू गर्न सहज भएको छ। अनलाइन अभिलेख तथा प्रतिवेदन प्रणाली सञ्चालन गर्नका लागि स्वास्थ्यकर्मी प्रविधीमैत्री हुनुपर्ने कुरामा दुइ मत छैन तर एचएमआइएस रजिष्टर जस्तै अनलाइन अभिलेख राख्ने रजिष्टर भएकाले एचएमआइएस रजिष्टरसँग जानकार स्वास्थ्यकर्मीहरुले कम्प्युटरको अति सामान्य ज्ञान भएमा यो प्रणाली सञ्चालन गर्न सजिलै सक्नुहुन्छ।
गलकोट नगरपालिकामा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा गण्डकी प्रदेशमा नै पहिलो पटक इलेक्ट्रोनिक हेल्थ इन्फर्मेसन रेकर्डिङ एन्ड रिपोर्टिङ सिस्टम लागू गरिएको हो। गण्डकी प्रदेशमा स्वास्थ्यको अनलाइन अभिलेख प्रणाली लागू गर्ने की नगर्ने, हाल उपलब्ध सफ्टवयरबाट स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाइ अनलाइन बनाउन सम्भव छ या छैन जस्ता प्रश्नहरुको उत्तर गलकोट नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाले आफ्नो इलेक्ट्रोनिक हेल्थ इन्फर्मेसन रेकर्डिङ एन्ड रिपोर्टिङ सिस्टम को प्रयोग मार्फत अरुलाई सुनिश्चित गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको थियो। गलकोट नगरपालिकाका स्वास्थ्यकर्मीहरुको अथक प्रयास र लगनमा गलकोटमा इलेक्ट्रोनिक हेल्थ इन्फर्मेसन रेकर्डिङ एन्ड रिपोर्टिङ सिस्टम सफ्टवयरले सार्थकता पाएको छ र अवको स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अनलाइन नै हुनुपर्छ भन्ने प्रमाण गलकोट नगरपालिकाका स्वास्थ्यकर्मीहरुको हौसला र खुसीले देखाउँछ। हाल गण्डकी प्रदेश संगै बागलुङ जिल्लाका सबै पालिकाहरुमा यो प्रणाली सुरु हुने क्रममा छ भने केहीमा तालिम सञ्चालन गरी जडान हुने क्रममा छ।
गण्डकी प्रदेशमा आयोजना गरिएको स्वास्थ्यमा नवप्रवर्तन कार्यक्रमहरुको अभिमुखिकरण कार्यक्रममा गलकोट नगरपालिका स्वास्थ्य शाखाद्वारा एचएमआइएसको डिजिटलाइजेशन र गलकोटमा इलेक्ट्रोनिक हेल्थ इन्फर्मेसन रेकर्डिङ एन्ड रिपोर्टिङ सिस्टम को अवस्था, चुनौती र अवसरहरु बारे प्रस्तुतीकरण गरेसँगै प्रदेश तथा जिल्लाका बिभिन्न स्थानीय तहबाट इलेक्ट्रोनिक हेल्थ इन्फर्मेसन रेकर्डिङ एन्ड रिपोर्टिङ सिस्टम सफ्टवयर सम्बन्धमा चासो देखिएको र हाल धेरै पालिकाले यो प्रणाली अपनाउने निर्णय गरिसकेको हामीले पाएका छौ।
यद्यपी यो सफ्टवयर भर्खरै तयार भएर लागू हुने क्रममा रहेकोले केही सुधार गर्नुपर्ने पक्षहरु छन। हालसालै सुरु भएको यो अनलाइन प्लेटफर्ममा केही कमजोरी हुदै नभएका भने होइनन् , भनिन्छ जहा अवसवर तहा चुनौती, यो प्लेटफर्म प्रयोग गरिरहेका स्वास्थ्यकर्मीहरुले बिस्तारै प्रयोगकर्ता बढ्दै जादा प्रणाली ढिलो हुदै गएको , बहिरङ्ग रजिष्टरमा औषधिको जेनेरिक नाम हुनुपर्नेमा कुनै औषधिहरुको कम्पनीको नाम रहेको, कतिपय औषधीहरुको मात्रा नमिलेकोमा केही सुधार गर्नुपर्ने बताउनुहुन्छ।
यद्धपी स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा यो सफ्टवयर कोशेढुंगा नै सावित हुने धेरै स्वास्थ्यकर्मीहरुको अनुभव छ। नियमित रुपमा अनलाइन अभिलेख राखिसकेपछि तथ्यांकमा त्रुटी हुन नपाउने, अभिलेख गर्ने बेला त्रुटी भएमा प्रणालीले सचेत गराउने, एउटै सेवाग्रहीलाइ पटक पटक दर्ता गरिरहनु नपर्ने, मुल दर्तामा दर्ता भइसकेपछि सेवाग्राहीको विवरण सेवा रजिष्टरमा फेरी इन्ट्री गर्न नपर्ने, मासिक रुपमा समायोजन गरी तथ्यांक निकाल्न समय खर्च गर्न नपर्ने, बहिरङ्ग रजिष्टर तथा आइएमएनसीआइमा रोगको बर्गीकरण गर्दा सजिलो हुने, अनलाइनबाट नै बहिरङ्ग टिकट प्रीन्ट गरेर दिन मिल्ने, आगामी महिना खोप लगाउने बालबालिकाहरु समेत अनलाइनबाट नै सूचीकृत गर्न मिल्ने, अनलाइन प्लेटफर्म भएकाले पालिका, जिल्ला, प्रदेशमा बसेर सजिलै तथ्यांकको विश्लेषण गर्न सकिने, महामारीका बेला केशको संख्या एक क्लीकमा नै सिष्टमबाट हेरेर आवश्यक निर्णय लिन सकिने जस्ता महत्वपूर्ण बिशेषता भएकाले यो प्रणाली निकै प्रभावकारी छ र यसलाइ गण्डकी प्रदेश भरी नै लागू गरेर गण्डकी प्रदेशलाइ स्वास्थ्यको क्षेत्रमा पहिलो डिजीटलाइज्ड प्रदेश बनाउन अति आवश्यक देखिन्छ।
गलकोट नगरपालिका अन्तर्गतका प्राय स्वास्थ्य संस्थामा हाल १ थान मात्र कम्प्युटर/ल्यापटप रहेकोमा आगामी आ.व मा सबै संस्थामा २ थान कम्प्युटर/ल्यापटप व्यवस्था गर्नका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको छ। स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीहरुले नै प्रणाली चलाउन सकेमात्र प्रभावकारी रुपमा डिजीटल अभिलेख प्रणालीले सार्थकता पाउने देखिएकोले तालिम लिन बाकी सबै स्वास्थ्यकर्मीलाई यस आ.व मा तालिम संचालन गर्न बजेट बिनियोजन गरिएको छ। यो प्रणाली पूर्ण अनलाइन प्लेटफर्म भएकोले चौबीसै घण्टा भरपर्दो इन्टरनेट, सेवाग्राहीहरुको संख्या हेरी २ देखि ३ थान कम्प्युटर/ल्यापटप र पावर ब्याकअपको व्यवस्थापन गर्न सकेमा यो प्रणाली सजिलै लागू गर्न सकिन्छ। गण्डकी प्रदेश भरी नै यो प्रणाली लागू गर्न सकेमा प्रदेश सरकारको रजिष्टर छपाइको ठूलो खर्च जोगिन्छ भने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली स्मार्ट र समय सान्दर्भिक हुने गलकोट नगरपालिका अन्तर्गत स्वास्थ्यकर्मीहरुको रहेको छ।