काठमाडौं- केन्द्रीय कारागार अस्पतालमा डेंगु नियन्त्रणसम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
अस्पतालमा ज्वरोका बिरामीहरु पछिल्लो साता बढ्न थालेपछि केन्द्रिय कारागार अस्पतालले केन्द्रिय सुधार गृह, भद्र सुधार गृह, महिला सुधार गृहका आन्तरिक प्रशासनका चौकिदार, नाइके, भाई तथा सह नाइके र नक्खु, डिल्लीबजार कारागारमा कार्यरत स्वास्थ्यकर्मी, अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष, अप्रत्यक्ष संलग्न सवैलाई डेंगु नियन्त्रण सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो।
हरेक सुधार गृहबाट १० जनाका दरले ४० जना र उपत्यकामा रहेका कारागार कार्यालयका स्वास्थ्यकर्मी, अस्पतालका विशेषज्ञ चिकित्सक, चिकित्सक, नर्सीङ, स्वास्थ्यकर्मी, कर्मचारी लगायत करिब १०० जनाको उपस्थितीमा डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा प्रकाश बुढाथोकीले जानकारी दिए।
महामारी तथा रोग नियन्त्रण महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालको प्रस्तुती, विश्व स्वास्थ्य संगठनका मेडिकल सर्भिलेन्स अफिसर डा बन्दना पाण्डे र इन्टोमोलोजिष्ट शिशिर पन्तको सहजीकरणमा भएको उक्त कार्यक्रममा अनाश्रीत प्रहरी गुल्म, नख्खु कारागार, डिल्लीबजार कारागारका प्रतिनिधि, केन्द्रीय कारागार अस्पतालका चिकित्सक तथा कर्मचारीहरु, सुधार गृहका चौकीदार, नाईके, सह नाइकेहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा प्रकाश बुढाथोकीले केहि दिनदेखि यस अस्पताल तथा कारागार भित्र डेंगुका बिरामीहरु बढ्दा भुईमा राखेर उपचार गर्न परिरहेकाले यसको रोकथाम र नियन्त्रणको लागि सम्बन्धित निकाय सचेत हुनुपर्ने बताए।
अन्र्तक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुलाई डा बुढाथोकी लगाएतले स्पष्ट पारेका थिए।