काठमाडौं- औषधि क्षेत्रमा कार्यरत बजार प्रतिनिधिहरुको छाता संगठन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५४ औं स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।
प्रत्येक वर्ष अगस्ट १४ तारिखमा संस्थाले मनाउँदै आएको स्थापना दिवस यस वर्ष पनि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ मेची ईकाइद्वारा समेत विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाईएको छ।
मेची इकाईका अध्यक्ष बिनोद राजवंशीको अध्यक्षता तथा केन्द्रीय सचिव डुपेन्द्र रिजालको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य भुपाल निरौला आतिथ्यतामा सम्पन्न भएको हो।
दिवसका क्रममा मनकामना कलेजदेखि लोकमार्ग हुदै परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित वृद्धाश्रमसम्म वृहत मोटरसाइकल र्याली निकालिएको थियो।
साथै वृद्धाश्रममा संस्थाका उपाध्यक्ष रोशन चौधरी तथा सहसचिव सर्वेन्द्र राजवंशीको संयोजकत्वमामा निःशुल्क स्वास्थ परीक्षण तथा औषधि वितरण गरिएको थियो। जसमा प्रेसर तथा मधुमेह जाँचसहित डा उज्ज्वल देव र डा प्रविन मण्डलद्वारा ४० जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ। त्यस्तै गरी वृद्धाश्रममा चामल, खाने तेल र चप्पल समेत वितरण गरिएको सहसचिव ललन कुमार झाले जानकारी दिए।