काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डा रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरेको भन्दै नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ।
आफ्नो आजीवन सदस्य डा यादवलाई पक्राउ गरि मानमर्दन गर्दै न्यूनतम मानव अधिकारको हनन् गरिएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सीआईबीले चिकित्सक विरुद्ध चलाएको अपरेसन फोक्सट्रोटमा साउन २५ गते डा यादवलाई पक्राउ गरिएको थियो। नेपाल मेडिकल काउन्सिलले सिआईबीलाई दिएको विवरण अनुसार उनलाई नक्कली भनी पक्राउ गरिएको थियो।
सीआईबीले एसएलसी र प्लस टूका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका नक्कली डाक्टरहरुमाथि अपरेसन चलाउने क्रममा सक्कली डा यादव पक्राउ गरेका थिए।
तर डा यादव सक्कली डाक्टर भएको पाइएपछि उनलाई आइतबार राती रिहा गरिएको छ।
संघले त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कानूनी कारवाही गर्न समेत माग गरेको छ।