काठमाडौं- काठमाडौं महानगरपालिकाको बैठकमा पानीपुरी र चटपटजस्ता खानेकुरा बिक्रीमा रोक लगाउन प्रस्ताव गरिएको छ। आइतबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपप्रमुख सुनिता डंगोल सामु प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले उक्त प्रस्ताव पेस गरेका हुन्।
अधिकारीले पानीपुरी र चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरू झुम्मिने गरेको तर यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने बताए। उनले भने, 'यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने हुनसक्छ।’ उनले खुला दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम पनि मापदण्डविपरीत भएको बताए। यस्तो कार्य तत्काल रोक्नुपर्ने उनको भनाइ थियो।
सडक किनारमा राखेर तरकारी बेच्नु जनस्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्ने उनको भनाइ थियो। उनले बजारमा ल्याइने धेरै तरकारीमध्ये केही भाग बिग्रिएको हुँदा उपभोगका दृष्टिले पूर्ण अस्वस्थ्यकर हुने र यस्तो तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारमा भाग लगाएर बेच्ने काम पनि रोक्नुपर्ने उनले बताए।
उक्त बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्यांकन समितिका सदस्य राजेन्द्र मानन्धरले फाल्नुपर्ने तरकारी र फलफुल बेचबिखनमा तत्काल रोक लगाउनु पर्नेमा जोड दिए।
यसैगरी कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा अवधेश झाले यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराए। बजारमा लेउ लागेको र फुटेका जारमा पानी बेचबिखन भइरहेको उनले बताए। उनले भने, ‘कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड छ। यसविपरीतका जार जफत र नष्ट गरिएको छ।’ डा झाका अनुसार काठमाडौंमा १५० भन्दा धेरै जारको पानीका वितरक छन्। यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था नरहेको उनले बताए।
बैठकमा उपमेयर डंगोलले खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजार अनुगमनलाई प्राथमिकता दिन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्देशन दिएकी छन्। उनले बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिएकी हुन्।
माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिने हुँदा मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसललगातमा अनुगमन गरेर सचेत गराउन, सुधारको मौका दिन र मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी दायरमा ल्याउन उनले निर्देशन दिइन्।
व्यापारिक क्रियाकलापमा हुने निगरानीसँगै उपभोक्तालाई स्वच्छता र गुणस्तरका विषयमा सचेत गराउने काम पनि सँगै सञ्चालन गर्नुपर्ने छलफल बैठकमा भएको थियो।