काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका ‘नक्कली डाक्टर’माथि लिखत किर्तेको कसुरमा अनुसन्धान हुने भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार उनीहरुमाथि लिखत किर्तेमा अनुसन्धानका लागि म्याद थपको तयारी भइरहेको छ।
२०७३ सालमा सोही कसुरमा पक्राउ परेका ‘नक्कली डाक्टर’हरुमाथि भने ठगी मुद्दा दायर गरिएको थियो। ठगिएको व्यक्तिको किटानी जाहेरी नदेखिएपछि जिल्ला अदालतले तत्कालीन अवस्थामा पक्राउ परेका ५८ जनामध्ये ५५ जनालाई सफाइ दिएको थियो।
सीआईबीले नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न रहेकाहरुविरुद्ध ‘अपरेसन फक्सट्रट’ सञ्चालन गरिएको जनाएको छ। उक्त अपरेशनका क्रममा कांग्रेस सांसद शर्मासहित शुक्रबार दिउँसोसम्म ८ जना पक्राउ परेका छन्।
पक्राउ परेकालाई म्याद थपका लागि अदालत पेस गर्ने तयारी भइरहेको छ।