काठमाडौं-भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेंगु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ। डेंगु परीक्षणका लागि आधिकतम रु छ सय तोकिएको हो।
महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन्।
उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरिन। जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेंगु परीक्षण निःशुल्क हुने गरेको छ।
भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु छ सयमात्र लिने जनाएको छ। पछिल्लो समय जिल्लामा डेंगु रोगको सङ्क्रमण बढ्दै गएको छ। साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ।