काठमाडौं- नेपाल प्रगतिशिल चिकित्सक संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गरेो छ।
नेपालमा हाल स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरूमा हुने आक्रमण, दुर्व्यवहार र हुलहुज्जत गर्ने प्रवृत्ति भयानक रूपमा बढ्दै गएको र संस्थागत नै हुन थाले जस्तो देखिएको भन्दै संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।
स्वास्थ्य सचिव डा रोशन पोखरेललाई ज्ञापनपत्र बुझाउँदै संघले ऐनको कार्यान्वयनको प्रमुख निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भएकोले आवश्यक सक्रिय पहलकदमीको अभाव रहेको ठहर गरेको छ।
'ऐनको कार्यन्वयन गर्ने एक मुख्य संयन्त्र ऐनको दफा ५ अनुसारको समिति हालसम्म गठन नहुनु नै हो तसर्थ उक्त ऐनको प्रभावकारी कार्यान्वयनका निम्ति दफा ५ अनुसारको समिति तत्काल गठन गर्नुहुन र ऐनको दफा ७ अनुसारको नाम दर्ता गराउने, ८ अनुसारको दस्तुर बुझाउने, दफा १२ अनुसार कोषको व्यवस्था गर्ने लगायतका प्रावधानहरू तत्काल अघि बढाउनु हुन हाम्रो संगठन जोडदार माग गर्दछ' ज्ञापनपत्रमा भनिएको छ।