काठमाडौं– पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या (कन्जंक्टिभाइटिस) फैलिएको छ। देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ।
हाल आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो। आँखा अस्पतालहरुमा आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा कन्जंक्टिभाइटिसको समस्या देखिएको नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताए।
“सुरुआतमा भारतको सीमावर्ती क्षेत्रहरुमा मात्र कन्जंक्टिभाइटिसको समस्या देखिएको थियो। अहिले देशैभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने दैनिक आँखा जाँच गराउने बिरामीमध्ये ५० प्रतिशतमा कन्जंक्टिभाइटिसको समस्या देखिएको छ”, उनले बताए।
सङ्घको तथ्याङ्कअनुसार दैनिक आँखाजाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा मात्रै करिब ८० प्रतिशत बिरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन्। सङ्घका महासचिव भरतबहादुर चन्दले देशैभर कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न सङ्घअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरेको जनाकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे एकदेखि दुई हप्तामा आफैँ निको हुने हुँदा स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगर्न सुझाब दिए।
चिकित्सकका अनुसार भाइरल कन्जंक्टिभाइटिसले आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने ÷ दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने लक्षण देखिन्छ। हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भए तापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको छ।भाइरल कन्जंक्टिभाइटिस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।
त्यसैले रोकथामका भनेको सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नजाने र सङ्क्रमित व्यक्ति भीडभाडबाट बच्नुपर्छ । सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने जथाभावी आँखा नछुने र आँखा छुनु परेमा छुनुअघि वा छोइसके पछि साबुनपानीले मिचीमिची राम्रोसँग हात धुनपर्छ ।