काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा प्वाइजन इन्फरमेसन सेन्टर (विषादी सूचना केन्द्र) बनाइने भएको छ। सोमबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको महाराजगञ्ज मेडिकल क्याम्पसको डिपार्टमेन्ट अफ क्लिनिकल फार्माकोलोजीले विभाग अन्तर्गतको ड्रग एन्ड टक्सिकोलोजी सेन्टर र आस्क फाउन्डेनसले उक्त सेन्टर निर्माणका लागि हस्ताक्षर गरेका छन्।
भदौ पहिलो हप्ताबाट सञ्चालनमा ल्याउन खोजिएको सेन्टरबाट सेवा र रिसर्च दुवै दिइनेछ। हेल्थ रिसर्च काउन्सिलका सदस्य सचिव डा प्रदीप ज्ञवाली उक्त सेन्टर स्थापनाको कारण र प्रभावका बारेमा जानकारी दिएका थिए। उनले बिरामीको उपचारका लागि सही परामर्शका साथै भविष्यमा यससम्बन्धी उपचारका लागि नीति निर्माण गर्न सेन्टरबाट उपलब्धिमूलक जानकारी हासिल हुने उल्लेख गरे।
विषादी सेवन वा प्रयोगक कारण स्वास्थ्य संस्था पुगेका बिरामीको उपचारमा एकरुपता दिन उक्त सेन्टर स्थापना गरिएको परियोजना प्रमुख डा राकेश घिमिरेले जानकारी दिए। सेन्टरले बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म सेवा दिनेछ। विषादीको सेवन वा प्रयोगपछि चिकित्सक वा स्वास्थ्यकर्मीलाई उपचारका क्रममा आउने द्विविधा हटाउने प्रयास उक्त सेन्टरबाट हुनेछ। सेन्टरका लागि उपलब्ध टोल फ्री नम्बरमा फोन गर्दा तालिमप्राप्त चिकित्सकले विषादी सेवनपछि हुने जटिलता र उपचार प्रक्रियाका विषयमा उपलब्ध ज्ञान र तथ्यांक प्रदान गर्नेछन्।
सेन्टरमा रहने चिकित्सकलाई अमेरिकाको इमोरी युनिभर्सिटीबाट विषादी सम्बन्धी तीन महिने तालिम दिइएको छ। सेन्टरकी विशेषज्ञ डा आकृति पोखरेलका अनुसार १७ हजार विषादी सम्बन्धी तथ्यांक उक्त सेन्टरमा उपलब्ध हुनेछन्। जहाँ विषादी खाएको वा दुर्घटनाबस खान पुगेको, औषधीको बढी मात्राका कारण उत्पन्न समस्या, खाद्य पदार्थ विषादीमा परिणत हुँदा आएका समस्याहरुको समाधानका लागि आवश्यक तथ्यांक, उपचार पद्धति र दिनुपर्ने औषधिका विषयमा परामर्श दिइनेछ।
सेन्टरले देशभरका स्वास्थ्य संस्थालाई सेवा दिने ड्रग एन्ड टक्सिकोलोजी विभागका प्रमुख डा अनिश मुडभरीले जानकारी दिए। उक्त सेन्टरबाट संकलन हुने तथ्यांकले शैक्षिक र नीति निर्माण तहमा समेत सहयोग पुर्याउने अपेक्षा आफूहरुको रहेको उनको भनाइ छ। त्रिवि शिक्षण अस्पतालमा औषधी सम्बन्धी जानकारी दिइरहेको सेन्टरले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै देशव्यापी बनाउन छुट्टै जानकारी केन्द्र सञ्चालन गर्न लागेको हो।
परियोजना प्रमुख डा घिमिरेले विषादीबाट हुने मानव स्वास्थ्यलाई लिएर विगत ८ वर्षदेखि काम गरिरहेका छन्। नेपालमा आत्महत्याका लागि विषादीको प्रयोग दोस्रो नम्बरमा आउँछ। त्यसमा पनि ९० प्रतिशतले किटनाशक विषादीको प्रयोग गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको डा घिमिरेले जानकारी दिए। बाँकी १० प्रतिशत भने औषधिको ओभरडोजलगायत अन्य रहेका छन्।
सोमबार भएको सम्झौता अनुसार फार्माकोलोजी सेन्टरले विशेषज्ञसहित नेतृत्व गर्नेछ। उक्त सेन्टर स्थापनाका लागि सहयोग तथा सहजीकरण ब्राउन युनिभर्सिटीको इमर्जेन्सी मेडिसिनका असिस्टेन्ट प्रोफेसर डा रामु खरेल र आस्क फाउन्डेसनले गरेका हुन्।
फार्माक्लोजी विभाग प्रमुख डा मुडभरीको सुपरीवेक्षणमा रहने सेन्टरको परियोजना प्रमुख डा घिमिरे रहेका छन्। उक्त टिममा विशेषज्ञका रुपमा डा प्रदीप ज्ञवाली, डा आकृति पोखरेल, डा शतिश देव, डा प्रवीण प्रसादले विशेषज्ञका रुपमा योगदान गर्नेछन्।