विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मुखमा भएका तन्तुहरूको मापदण्डको रूपमा मुख स्वास्थ्यलाई परिभाषित गर्दछ- जसले व्यक्तिलाई सक्रिय रोग, असुविधा वा अप्ठ्यारो बिना खान, बोल्न र समाजीकरण गर्न सक्षम बनाउछ। गर्भावस्थाका समयमा मुख स्वस्थ राख्नु एउटा महत्त्वपूर्ण चुनौती रहेको छ।
गर्भावस्थाको बेलामा महिलाहरूमा हर्मोनल परिवर्तनहरु भइरहेको हुन्छ। विशेषगरी एस्ट्रोजन र प्रोजेस्टेरोनका मात्रा बढेको हुन्छ। सामान्य प्रजनन चक्रको बेलामा भन्दा ३० गुणाले एस्ट्राडियोल (एस्ट्रोजन हर्मोनको प्राथमिक रुप) को मात्रा प्लाज्मामा विभिन्न तथ्याङ्क अनुसार बढेको पाइएको छ।
एस्ट्रोजनले सेलुलर प्रोलिफिरेसन, डिफरेन्टेसन र केराटिनाइजेसनलाई नियमन गर्छ भने प्रोजेस्टेरोनले माइक्रोभास्कुलाटरको प्रिमाबिलिटी र कोलाजेनको उत्पादनलाई असर पुर्याउँछ।
गर्भावस्थाको समयमा हुने हर्मोनल परिवर्तनका कारणले जिन्जभाइटिस (गिजाको समस्या) र थप वेवास्था गर्दा पेरियोडोन्टाइटिस (गिजाको संक्रमण) निम्त्याउँछ । त्यति मात्र नभएर र्याललाई लो सालिभेरी पिएच (र्याललाई एसिडिक बनाउने) मा लगेर, फलस्वरूप दन्त क्षय हुने सम्भावना बढ्छ।
जिन्जभाइटिस भनेको गिजा चिलाउने, गिजाबाट रगत आउने र गिजा सुन्नीने रोग हो। पेरियोडोन्टाइटिस भनेको दाँतलाई सर्पोट गर्न तन्तुहरु जस्तै पेरियोडोन्टल लिगामेन्ट, याल्भिलर बोनको विनास हो। जसले गर्दा गिजा पाक्ने, गिजा तल सर्ने, सास गनाउने, दाँत हल्लने रोग निम्त्याउछ। पेरियोडोन्टाइटिसलाई हामी सामान्य रूपमा हर्सा भन्ने गर्दछौं।
प्ल्याक, क्याल्कुलस (दाँतमा टाँसिएको फोहोर) र खानाको फोहरले गर्दा गिजामा नराम्रो परिवर्तन आउँछ । डेन्टल प्लायकमा भएको ब्याक्टेरियल फ्लोरा नै जिन्जिभल र पेरियोडोन्टल रोगको मुख्य कारक मानिन्छ । यद्दपि गर्भावस्थामा हुने हर्मोनल र भास्कुलर परिवर्तनहरूले डेन्टल प्ल्याकको असरलाई अझ बढाउने काम गर्दछ । गर्भावस्थाको समयको दोस्रो त्रैमासिकमा गिजा बढी सुन्निन्छ र ३ महिना पोस्ट पार्टमको अन्त्यमा कम हुन्छ।
मुख स्वास्थ्यलाई ध्यान नदिनु र पहिलो त्रैमासिकमा वान्ता र बारम्बार चिनीयुक्त खानाले गर्भावस्थामा मुख स्वास्थ्य अवस्था अझ बिग्रिन्छ। दन्त क्षय भएका आमाहरूले अनुपयुक्त खुवाउने प्रक्रियाहरु मार्फत आफ्ना बच्चाहरुलाई कुयारियोजेनिक ब्याक्टेरियाहरु पठाउँछन् । त्यसकारणले गर्दा बच्चाहरुमा दन्त क्षय हुने सम्भावना बढ्छ ।
अमेरिक एकेडेमी अफ पेरियोडोन्टोलोजी (आप) का अनुसार सबै महिलाहरू मध्ये आधाले गभावस्थाको समयमा जिन्जभाइटिस अनुभव गरेका हुन्छन्। आपले महिलाहरुलाई गर्भावस्थाअघि पेरियोडोन्टल चेकका लागि दन्त चिकित्सकलाई भेट्न र गर्भावस्थामा मुख स्वच्छता कायम राख्न सिफारिस गर्छ।
गर्भावस्थाको समयमा दन्त उपचार सुरक्षित छ र यसले आमाहरुको मुख स्वास्थ्यमा उल्लेखनीय सुधार गर्दछ र शिशुहरुलाई प्रारभिक दन्त क्षय विकास गर्ने जोखिमलाई कम गर्दछ।
सुझावहरु ;
१. दिनमा दुई पटक फ्लोरीडेटेड मन्जनले दाँत मझ्ने। खाने कुरा खाएपछी कुल्ला गर्ने। चारै तिर कुना- कुनामा पुग्ने गरेर दाँत मझ्ने। यदि प्रयोग गरेको मन्जनले वान्ता भइरहेको छ भने मन्जन बदल्ने, नुनपानीले कुल्ला गर्ने।
२. गर्भ योजना गर्नु भन्दा अगाडि दन्त चिकित्सक कहाँ गएर सल्लाह सुझाव लिइ उपचार गराउने।
३. गर्भावस्थाको ४ देखि ६ महिनाको अन्तरालमा आकस्मिक तथा वैकल्पिक उपचारहरु जस्तै स्केलिङ (दाँत सफा गर्ने), आरसिटी (जरा देखीको उपचार), दाँत निकाल्न, दाँत भर्न सुरक्षित हुन्छ।
हामीले गर्भावस्था र मुख स्वास्थ्यसँग सम्बन्धित समस्याहरु धेरै नै सुन्दै आइरहेका छौं। हरेक गर्भावस्थामा महिलाहरुले दाँत गुमाउने गरेको सामान्य धारणा छ। तर मुख स्वास्थ्य हेरचाह र नियमित दाँत जाँच गराउदा गर्भवतीको दाँत स्वस्थ रहन सक्छ।
-(डा पौडेल दन्त चिकित्सक हुन्।)