काठमाडौं- नेपाल चिकित्सक संघ र डा देवी प्रसाद-दामोदर प्रसाद उपाध्याय अक्षयकोषबीच सम्झौता भएको छ। संघको कार्यालयमा बिहीबार दुवैपक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। संघका तर्फबाट संघका अध्यक्ष डा अनिलविक्रम कार्की र कोषका तर्फबाट मिरा उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपाल चिकित्सक संघको आजीवन सदस्य स्व डा दामोदरप्रसाद उपाध्यायको श्रीमती मीरा उपाध्यायको इच्छा अनुसार उनका ससुरा तथा मुलुकको दोश्रो डाक्टर देवीप्रसाद उपाध्याय र श्रीमान् एवं वीर अस्पतालका पूर्व मेडिकल सुपरिन्टेडेण्ट स्व डा दामोदरप्रसाद उपाध्यायको नाममा उक्त अक्षयकोष स्थापना गरिएको हो।
अक्षयकोषमा १५ लाख रुपैयाँ राखिने छ। उक्त रकमको ब्याजबाट नेपालको उत्तरी भूभागका १८ वटा जिल्लाका विपन्न वर्ग तथा नेपालमै चिकित्सा शास्त्रमा स्नातक तह अध्ययन प्रारम्भ गर्न लागेका वा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने छ।
कोषबाट उपलब्ध गराइएको रकमलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त कुनै बैंक तथा वित्तिय संस्थामा मुद्दती खातामा राखी त्यसबापत प्राप्त ब्याजबाट नेपाल चिकित्सक संघबाट सम्झौतामा उल्लेखित प्रयोजन तथा सञ्चालन विधिका आधारमा डा देवी प्रसाद-दामोदर प्रसाद अक्षयकोष २०८० संचालन गरिने सम्झौता पत्रमा उल्लेख छ।