स्याङ्जा– स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना संकलन गरी परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो। कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाचँ, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमूना सङ्कलन गरी परीक्षण गरेको थियो।
सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको छ। चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलवग ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माको भनाइ छ। यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका कीटाणु भेटिएका थिए।