काठमाडौं– ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिबद्धता’ नाराका साथ आजदेखि एकसाता विश्व स्तनपान सप्ताह २०८० मनाइँदैछ।
स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक बर्ष संसारभर विश्व स्तनपान सप्ताह मनाइँदै आइएको छ। परिवार कल्याण महाशाखा तथा संघ, प्रदेश र स्थानीय सरकराले पनि सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदै छ। सरकारले विभिन्न योजना सहित स्तनपानको विषयमा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएपछि नेपालमा अझैपनि शिशु तथा बालबालिकाले पूर्ण रुपमा आमाको दुध भने पर्याप्त मात्रामा नपाउने गरेको पाइएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत मात्र छ। ४४ प्रतिशतले पूर्ण रुपमा स्तनपान नगराउने गरेको पाइएको छ।
यस्तै शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ, ४५ प्रतिशत शिशुले जन्मेको एकघण्टाभित्रै आमाको दुध खान नपाउने अवस्था अझै छ।
शिशु जन्मेदेखि २ बर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या भने ९४ प्रतिशत रहेको तथ्यांक छ। पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदुरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ।
पूर्ण स्तनपानको दर माध्यामिक तहभन्दा बढी शिक्षा लिएका आमाहरुमा कम देखिएको छ। यस्तै न्यून आय भएका परिवारका आमाहरुले भन्दा उच्च आय भएका परिवारका आमाहरुले पूर्ण स्तनपान कम गराएको पाइएको छ।
उक्त तथ्यांक अनुसार नेपालमा बोतलपान गराएका शिशुको संख्या मुलुकभर २२ प्रतिशत रहेको छ भने प्रदेशगत रुपमा बागमतीमा सबैभन्दा बढि ४३ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको देखिएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ५ बर्ष मुनीका २५ प्रतिशत बालबालिकाहरु पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रत्तअल्पताबाट ग्रसित छन्।
संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ। सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको महत्वपुर्ण भूमिका हुन्छ।
यसकारण बच्चालाई स्तनपान गराउनुपर्छ
जन्मने बित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ। जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ। त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टा भित्रमा उसलाई आमाको बगौती दूध अनिवार्य रुपमा खुवाउनुपर्छ ।
आमाको बिगौती दूधले भविष्यमा बालबालिकाहरुलाई विभिन्न प्रकारका रोगहरुको जोखिमबाट टाढा राख्दछ र बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्दछ। शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिना सम्म आमाको दूध मात्र खुवाउनु पर्दछ। बच्चा जन्मेको ६ महिना पुरा भएपछि पोषिलो थप खानाका साथसाथै कम्तिमा २ बर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनु पर्दछ ।
आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ। आमाको दूधमा पाइने रोगसँग लड्ने प्रतिरोधात्मक तत्व बट्टाको दूधमा नपाइने भएकाले बट्टाको दूध सेवन गर्ने शिशुहरुमा रोगसँग लड्ने क्षमताको कमी हुँदै भविष्यमा कुपोषित मात्र नभएर मोटोपना, मधुमेह लगायतका रोगहरु लाग्न सक्ने अध्ययनहरुले देखाएको छ।
यसका साथै बट्टाको दूध सेवन गर्ने शिशुहरु भन्दा स्तनपान गर्ने शिशुहरुको बौद्धिक शक्तिको विकास राम्रो भएको पाइन्छ। ६ महिनासम्म आमाको दूधमात्र खुवाउँदा बाल मृत्युदरमा १३ प्रतिशतले कमी ल्याउन सकिने अन्तराष्ट्रिय जर्नल ल्यान्सेटले पुष्टि गरेको छ।
सरकारले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न तथा सबै प्रकारका कुपोषण न्युनीकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई कम्तिमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा तथा चिकित्सकको सिफारिसमा बढिमा एक बर्षसम्मको वेतलबि बिदाको व्यवस्था गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ।
त्यस्तै दफा १४ मा सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई विशेषज्ञ चिकित्सकको राय बमोजिम प्रजनन् स्वास्थ्य रुग्णता (मर्बिडिटी) को कारणले जटिल शल्यक्रिया गर्नु पर्ने भएमा त्यस्तो शल्यक्रिया हुनु अघि वा पछि कम्तीमा तीस दिनसम्मको तलब सहितको अतिरिक्त बिदा दिनु पर्ने व्यवस्था छ।
स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहहरुमा स्तनपान कक्षको स्थापना परिवार कल्याण महाशाखाले जनाएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा धेरैजसो राष्ट्रिय विमानस्थलहरुमा स्तनपान कक्षको स्थापना भएको छ र नभएका विमानस्थलहरुमा स्थापना हुने क्रममा रहेको छ।
त्यसैगरी सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरु, बसपार्कहरुमा पनि स्तनपान कक्ष स्थापना गर्ने काम भइरहेको जनाइएको छ।