मोरङ– मोरङ जिल्लामा डेङ्गुका बिरामी दिनप्रति दिन बढ्र्दै गएका छन्। विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म मात्र जिल्लाभर ८६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना बिरामी फेला परेका छन् ।
यसैगरी लेटाङ, मिक्लाजुङ, केरावारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा पनि डेंगुका बिरामी फेला परेका छन्।
मोरङको १७ पालिकाकामध्ये सात पालिकामा डेंगुका बिरामी देखिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले डेंगु नियन्त्रणका लागि स्थानीय पालिकासँग समन्वय गरी कार्य गरिरहेको जानकारी दिए।
प्रमुख डा मेहताले डेङ्गु फैलाउने लामखुट्टेको लार्भा खोजी र नष्ट अभियान सुरु गर्नाका साथै विद्यालयस्तरमा जनचेतना अभियान सञ्चालन गरिएको बताए।
यस्तै डेङ्गु सङ्क्रमण देखिएका स्थानमा आवश्यक जनशक्ति परिचालन र उपचारलाई तीव्रता दिनाका साथै रोग परीक्षणका लागि आवश्यक पर्ने किटहरु पालिकाको मागअनुसार पठाइएको उनको भनाइ छ।
बिराटनगरस्थित कोशी अस्पतालमा अहिले तीन डेङ्गुका बिरामीको उपचार भइरहेको छ । अस्पतालमा असार १ गतेदेखि आजसम्म १५ जना डेङ्गुका बिरामी उपचारका लागि आएकामध्ये १२ जना उपचारपछि घर फर्किसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चन्द्रलाल झाले बताए।
डेंगुका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने लक्षण देखिने भन्दै डा झाले यस्ता लक्षण देखिए चिकित्सकसँग परामर्श लिनुपर्ने बताए।
डेंगुबाट बत्न बच्न झुल लगाएर सुत्ने, भान्सा कोठामा पानी जम्न नदिने, घर वरिपरि पानी जम्ने ठाउँ सफा राख्ने, पुरै बाहुला भएको लुगा लगाउनेजस्ता सुरक्षा अपनाउनुपर्ने उनको भनाइ छ।
डेङ्गो सार्ने लामखुट्टे बिहानदेखि बेलुकासम्म बढी सक्रिय हुने भएकाले लामखुट्टेलाई लार्भा उत्पादन गर्न सहज हुने मुख्यत पानी जम्ने स्थान सफा राख्नु पर्ने डा झा ले जानकारी दिए।