काठमाडौं- ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन्। ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरु काठमाडौंमा भेला भएका हुन्।
एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सकहरु भेला भएका छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा विनोद बिजुक्छेले नेपालमा ढाडको बाँगोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए।
ढाड बांगिने समस्या १६ वर्षमुनिका बच्चाहरुमा देखिने विभिन्न अध्ययनहरुले देखाएको छ। कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ। तर, बाँगिने पनि २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरुले बताउँदै आएका छन्।
चिकित्सकहरुका अनुसार ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ। डा बिजुक्छेले अस्पतालहरुबाट ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको बताए।
‘कार्यशालामा देशभरका चिकित्सकहरुको सहभागिता छ। अर्थोपेडिक सर्जन जो स्पाइनल सर्जरी गर्न इन्ट्रेस्ट राख्नुहुन्छ। जसले भविष्यमा म स्पाइन सर्जरी गर्छु भनेर इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरुलाई हामीले समेटेका छौं’ उनले भने।
काठमाडौं बाहिर पनि स्पाइनल कर्ड इन्जुरीको समस्या भएका बिरामीले सहज सेवा लिन सकुन् भनेर तालिम आयोजना गरिएको डा बिजुक्छेले बताए। ‘यो तालिममा अर्थोपेडिक्स रेजिडेन्सहरु, अर्थोपेडिक्स सर्जन र स्पाइनल सर्जरी प्राक्टिस गरिरहेकाहरु सहभागी हुनुहुन्छ’ उनले भने।