मानिसहरुको जीवनकालमा २ प्रकारका दाँतहरू हुन्छन्। ६ महिनादेखि ६ वर्ष सम्म दुधे दाँत, ६ वर्षदेखि १२ वर्षसम्म मिश्रित दाँत र १२ वर्षपछि स्थायी दाँत। दुधे दाँत २० वटा हुन्छन् भने स्थायी दाँत ३२ वटा हुन्छन्।
फेरिने (दुधे) दाँतका महत्व के-के हुन्?
बच्चाहरुमा स्थायी दाँत नआएसम्मको लागि चपाउन, बोलीको विकास तथा सौन्दर्यता बनाइ राख्न ।
अनुहारको हड्डीको विकासका लागि।
स्थायी दाँतको कोपिला को सुरक्षा गर्न तथा स्थायी दाँत उम्रने बाटो बनाइराख्न।
यीनै कारणले गर्दा दुधे दाँतको पनि उत्तिकै हेरचाह गर्न आवश्यक छ। तर उचित खानपिन र हेरचाहको अभावले गर्दा अहिले दुधे दाँतहरूमा किराले खाने, कुहिने तथा समय अगावै निकाल्नुपर्ने जस्ता समस्या देखिएका छन्।
दुधे दाँतहरू को नसाको नली (pulp horn) ठुला ठुला हुन्छन्। त्यसैले संक्रमण छिट्टै नै नशासम्म पुग्दछ। जसका कारण बच्चालाई दुख्ने, सुन्निने देखि स्पेश इन्फेक्सनसम्म हुन्छ। नशासम्म फैलिएको संक्रमणलाई नशादेखिको उपचार गरेर बचाउन सकिन्छ। यस्ता दाँतले प्राकृतिक स्पेस मेन्टेनरको काम गर्दछन्। त्यसै गरि बचाउन नसकिने दाँतहरू भने निकाल्नुपर्ने हुन्छ। तर त्यसरी दाँतको झर्ने समय अगावै निकालिएको खण्डमा निम्न समस्या देखिन्छन् :-
खाली भएको ठाउँमा अगाडि पछाडिका दाँतहरू सर्ने र स्थायी दाँत उम्रन ठाउँ नपुग्ने
दाँत नभएको ठाउँमा गिजाको हड्डी खिइने
स्थायी दाँतको जरा बन्नुभन्दा अगाडि नै गिजामा ठाउँ खाली भएमा दाँत उम्रन ढिलो हुन्छ
स्थायी दाँतहरू आफ्नो ठाउँ भन्दा अन्य स्थान जस्तैः गाला तिर वा जिब्रो तिरको गिजाबाट निस्कने
त्यसैले त्यस्तो स्थितिमा हामीले पछि आउने दाँतको लागि ठाउँ जोगाइराख्नक तार बान्ने वा स्पेस मेन्टेनर लगाउनु पर्दछ। दाँतहरू खाली भएको स्थानमा सर्ने प्रबृतिका हुन्छन् थाई दाँतको तीन चौथाई (३/४) जरा बनिसकेपछि मात्र दाँत मुखमा देखिन थाल्दछन्। स्थायी दाँत उम्रने क्रममा सोहि दाँत माथि रहेको दुधे दाँतको जरा खिइएर हल्लिन थाल्छन्। यदि समय अगावै दुधे दाँत निकालियो भने स्थायी दाँत उम्रने ठाउँमा पहिले नै अगाडि पछाडिका दाँतहरू त्यस स्थानमा सर्ने गरेको पाइन्छ र दाँत बाङ्गोटिङ्गो हुने गर्दछ। त्यसैले यस्तो समस्या को रोकथामको लागि स्पेस मेन्टेनर लगाउन आवश्यक छ।
दुधे दाँतलाई बचाउन नसकेमा र नयाँ आउने दाँतको ठाउँ सुरक्षित गर्न परेमा स्पेस मेन्टेनर लगाउनु पर्दछ।
यसका फाईदाहरु:-
पछि गएर दाँत बाङ्गोटिङ्गो हुने समस्या हुँदैन
स्पेस मेन्टेनर राखेको ठाउँमा दाँतको विकास राम्रोसँग हुन्छ
पछि गएर तार बाध्ने उपचार र महङ्गो खर्चबाट जोगिन्छ
गिजाको हड्डीको बनावट बचाइराख्छ
तलको चित्रमा स्पेस मेन्टेनर को काम देखाउन खोजिएको छ।
(लेखकहरु डेन्टल कलेज अफ मेडिकल साईन्स, भरतपुरका इन्टर्न हुन्।)