काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा बीपी प्रतिष्ठानको अडिटोरियममा डेंगु रोग नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
श्रावण ५ र ६ गते सुनसरी जिल्लाभरिका विभिन्न स्वास्थ्य निकायका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, स्थानिय अस्पताल तथा पोलिक्लिनिकहरुका प्रतिनिधीहरुलाई डेंगु रोग नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो।
धरानलगायत सुनसरी जिल्ला भरि दिनानुदिन द्रुतगतीमा बढ्दो डेंगु रोगको नियन्त्रण र व्यवस्थापन गर्ने विषयमा केन्द्रित उक्त अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य सेवा विभागका निर्देशक डा दिपेन्द्र रमण सिंह, इपिडिमियोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र प्रसाद मरासिनी तथा भेक्टर बर्न डिजिज शाखाका प्रमुख डा गोकर्ण दाहाल लगायतका टोली, कोशी प्रदेश स्वास्थ्य सचिव सुधा देवकोटा, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत, सुनसरी जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईं, सहिद शुक्रराज ट्रपिकल अस्पताल, टेकुका चिफ कन्सल्टेन्ट फिजिसियन डा विमर्श शर्मा चालिसे, विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरु, फायरमेडका प्रतिनिधीहरुको उपस्थिती थियो।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट शिक्षाध्यक्ष प्राडा संजीव कुमार शर्मा, अस्पताल निर्देशक डा जगत नारायण प्रसाद, विभागीय प्रमुखहरु, शिक्षक चिकित्सकहरु, वार्ड इन्चार्ज तथा नर्सहरु मेडिकल रेकर्ड शाखाका प्रमुख तथा कर्मचारीहरु, इन्टर्नल मेडिसिन, कम्यूनिटी मेडिसिन विभागका जुनियर रेसिडेन्टहरु लगायत एम.पी.एच. मा अध्ययनरत विद्यार्थीहरु आदिको उपस्थिती रहेको थियो।
कार्यक्रमको पहिलो दिन, उपस्थित विज्ञहरुले डेंगु रोगको नियन्त्रण, उपचार र व्यवस्थापनका बारेमा प्रस्तुतीकरण दिएका थिए।
कार्यक्रमको दोश्रो दिन सुनसरी जिल्लाका विभिन्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालीका प्रमुख तथा उपप्रमुख, स्वास्थ्य शाखाका प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष, धरानका विभिन्न वार्डका टोल सुधार समितिका अध्यक्षहरु, पत्रकारहरु समेतको उपस्थिती रहेको थियो।