काठमाडौं– एक क्वन्टिल सुन प्रकरणमा पार्टीकै सांसद्बाट आफ्नो राजीनामा माग भएको विषयमा अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जवाफ फर्काएका छन्। उनले आफ्नो राजीनामा माग गर्ने आफ्नै पार्टी, नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अराजकता देखाएको टिप्पणी गरे।
नेपाली कांग्रेसका सांसद शर्माले बुधबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका थिए।
शर्माको मागको अर्थमन्त्री महतले सोही दिन बेलुका सानेपाबाट खण्डन गरेका छन्। मेडिकल व्यवासायी समेत रहेका शर्माले प्रक्रिया नपुर्याइ स्वास्थ्य बीमाको पैसा माग गरेको र आफूले त्यसमा सहयोग नगरेपछि संसद्मा जथाभावी बोलेको महतले आरोप लगाएका छन्।
‘उहाँको के भनाइ थियो भने मैले चाँहि भनेँ भने तुरुन्तै भइहाल्छ। तपाईंले नभनेर मात्र नभएको भन्ने उहाँको भनाइ थियो। त्यसको प्रक्रिया हुन्छ। संरचना हुन्छ। त्यो नहुने बित्तिकै उहाँ भड्किएर जथाभावी यसरी बोल्नु भएको हो,’ मन्त्री महतले आरोप लगाएका छन्।
मन्त्री महतले बीमा बोर्डले सो काम गर्ने हुँदा आफूले कानुनसंम्मत रुपमा काम गर्न भनेको पनि जनाएका छन्।
‘उहाँको हस्पिटल छ। स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालयअन्तर्गत छुट्टै संरचना छ। कसले पाउने, नपाउने भन्ने विषयमा हामीले पनि पाउनुपर्ने उहाँको भनाइ छ,’ महतले भने, ‘तर मैले निर्णय गरेर हुने कुरा होइन। त्यो बीमा बोर्डले गर्छ। सरकारको नीति र बजेट भित्र रहेर निर्णय हुन्छ।’
महतले शर्माको अभिव्यक्तिलाई अराजकता र अनुशासनहिनता रहेको टिप्पणी गरेका छन्।
‘यहि हो अराजकता। अनुशासनहिनताको चरम,’ कारबाही हुने चेतावनी दिँदै महतले भने, ‘यस्तो प्रवृत्तिलाई त पार्टीले कारबाही गर्नुपर्छ। त्यो कुनै संस्कार हुन्छ पार्टीको? मैले नेतृत्वलाई भनेको छु।’