भरतपुर- चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ। अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ।
भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो। चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन, भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालका क्यान्टिनको अनुगमन गरिएको खनालले जानकारी दिए।
भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख थानेश्वर सापकोटाले भरतपुर महानगरपालिकाले १३ होटल तथा किराना पसलमा अनुगमन गरेको बताए। उनले प्रारम्भिक चरणमा जरिवाना तिराएर सचेत गराइएको उल्लेख गर्दै पुनः सोही अवस्था दोहोरिए बन्द गर्ने चेतावनी दिए।
अनुगमन गरेकामध्ये अधिकांशमा म्याद सकिएका सामान र होटलहरुले सरसफाइमा ध्यान नदिएको भेटिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णुबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार पाँचवटा होटलमा ताला लगाइएको छ।
पुरानो मेडिकल कलेजभित्रका दुई, पुरानो मेडिकल अगाडिको सयपत्री खाजा घर, एभरेष्ट मःम ल्यान्ड र नारायणी सामुदायिक अस्पतालको क्यान्टिन बन्द गराइएको उनले बताए। सरसफाइमा ध्यान नदिएको, अस्पताल अगाडि चुरोट, गुट्कालगायतको सामान बेचेको तथा दर्ता नगरेको कारण बन्द गराइएको हो। त्यसैगरी हाकिमचोकमा रहेको आरसी किराना पसलसमेत बन्द गराइएको छ। त्यहाँ म्याद सकिएका खाद्य वस्तु थिए। अखाद्य वस्तुलाई महानगरले जफत गरेर नष्ट गरेको छ।
भरतपुरका फार्मेसीमा अनुगमन
जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा भरतपुरको चौविसकोठीका १० फार्मेसीमा अनुगमन गरिएको छ। प्रशासनका नासु विश्वास श्रेष्ठको नेतृत्वमा गएका अनुगमन टोलीले फार्मेसी दर्ताको प्रमाणपत्र, औषधि बेच्नेको अनुमतिपत्र, पसलले जारी गर्ने बिल र औषधिको म्याद हेरेको थियो।
अधिकांश फार्मेसीले जारी गर्ने बिलमा कैफियत भेटिएको जिल्ला प्रशासन कार्यालयका नासु श्रेष्ठले जानकारी दिए। चौविसकोठीका औषधि पसलहरुले औषधि खरिद गर्नेको नाम नै उल्लेख नगरी बिल जारी गर्ने गरेको पाइएको उनले बताए।
त्यस्तै, बिल जारी गर्दा औषधिको ब्याच नम्बर र म्याद सकिने अवधि उल्लेख गर्नुपर्नेमा कसैले पनि त्यसको पालना गरेका छैनन्। पसलको दर्ता प्रमाणपत्र नवीकरण नगर्ने रिजन फार्मेसीका सञ्चालकलाई प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए। गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयको नेतृत्वमा सोमबार औषधि पसलको अनुगमन गरिएको हो। रासस