काठमाडौं- देशभर वर्षायाम सुरु भएसँगै रगत सङ्कलन कम हुन थालेको छ। रगत सङ्कलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मङ्सिर महिनासम्म मानिसहरू खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत सङ्कलनमा कमी हुने गरेको हो।
वर्षातको समय सुरु भएदेखि मङ्सिर/पुससम्म दैनिक करिब आठ सय युनिटमात्रै रगत सङ्कलन हुने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताए। उनले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत सङ्कलन हुने गरेको बताए।
केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९÷८० मा ३३ हजार चार सय ८५ युनिट रगत सङ्कलन भएको थियो। उनले सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको बताए। पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको र गत वर्षहरूको तथ्याङ्क हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताए।
देशभर १२० वटा रक्त सञ्चार सेवा रहेको र हाल देशभर २ लाख ६२ हजार ४ सय ८१ नियमित रक्तदाता रहेको उनले बताए। निर्देशक पौडेलले नेपालमा कुल जनसङ्ख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताए। कुल जनसङ्ख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने उनको भनाइ छ।
निर्देशक पौडेलले भने, ‘ रगतको माग र आपूर्ति सिजन अनुसार हुने गर्छ। वर्षाको मौसम सुरु भयो भने धेरै मानिसहरू खेतीपातीमा लाग्ने भएकाले रगत सङ्कलन कम हुन्छ। चाड पर्वको समयमा पनि रगत सङ्कलन न्यून हुने गर्छ। मङ्सिर/पुसदेखि साउनसम्म धेरै राम्रो रगत सङ्कलन भइरहेको हुन्छ। मंसिरदेखि पुुसमा अस्पतालहरुबाट पनि माग धेरै आइरहेको हुन्छ। विशेष अवस्था जस्तैः कोभिड, डेंगुको अवस्थामा विशेष किसिमको प्रडक्ट आवश्यक परेको हुन्छ। त्यस्तो बेलामा हामीले रक्तदानका लागि विशेष आह्वान पनि गरिरहेका हुन्छौँ। गत वर्षहरूको तथ्याङ्क हेर्ने हो भने नेपालमा दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्छ। त्यो भनेको वर्षको चार लाख ५० हजार युनिट रगत आवश्यकता पर्ने हो । नेपाल रेडक्रस सोसाइटीले मागको ९० प्रतिशत बढी रगत आपूर्ति गरिरहेको छ। केन्द्रीय रक्त सञ्चार सेवासँगै प्रादेशिकस्तरमा पाँच वटा रक्त सञ्चार सेवा छन्।'
उनले थपे-'नेपालगन्ज, धनगढी, पोखरा, विराटनगर र चितवनमा सेवा उपलब्ध गराउँदै आएको छ। जिल्लास्तरमा २४ वटा रक्त सञ्चार सेवा छन्। समग्रमा एक सय वटा सङ्कलन केन्द्र रक्त सञ्चार सेवाले व्यवस्थापन गरिरहेको छ। रगतको कति माग हुन्छ भन्न सकिँदैन। गएका वर्षहरूको ट्रेन्ड हेरेर विचार गर्ने हो। नेपालमा कुल जनसङ्ख्याको ०.९ प्रतिशत नागरिकले नियमित रक्तदान गर्नुहुन्छ। अब त्यो नियमितता बढाउन जरुरी छ। जस्तो की वर्षको चार पटकसम्म रक्तदान गर्न मिल्छ। कतिपयले एक पटक वा दुई पटक रक्तदान गरिरहनुभएको छ। त्यसैले रक्तदान गर्नेहरूको सङ्ख्या बढाउनु पर्छ। रक्तदान गर्नेहरूको सङ्ख्या बढाउन सकियो भने फाइदा हुन्छ। एउटा रगतको आपूर्ति हुन्छ। अर्को नियमित रक्तदान गर्ने सबैभन्दा सुरक्षित रक्तदाता हो।’
निर्देशक पाठ्यक्रममै रक्तदानलाई प्रवर्द्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने बताए। पौडेलले सङ्घ र प्रदेश सरकारले विपन्नहरूलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रवन्ध मिलाउनुपर्ने बताए।
उनले रक्तदाताका लागि रक्तदाता हुँ भनेर गव गर्न लायक प्याकेज ल्याउनुपर्ने बताए। पछिल्लो तथ्याङ्क अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार एक सय ७० युनिट रगत सङ्कलनमा ३ लाख ५२ हजार ९१९ युनिट रगत वितरण भएको छ।