धरान- सुनसरीको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार पाउन सकुन् भन्ने उद्देश्यले बीपी प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा छुट्टै डेंगु क्लिनिक संचालनमा ल्याइएको छ।
आइतबारसम्म ८ सय १९ जनाको परीक्षण गर्दा ६१५ जना (७५ प्रतिशत) मा डेंगु संक्रमण देखिएको छ।
डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गरी आइतबारेदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याएकोछ। इमर्जेन्सीमा आउने डेंगुका बिरामीकोे चापमा अत्याधिक वृद्धि हु“दा कुनैपनि बिरामी उपचार सेवाबाट बञ्चित नभई सहजरुपमा उपचार सेवा पाउन तथा अन्य रोगका बिरामीहरुको उपचार सेवामा समेत असर नपरोस् भन्ने उदेश्यले प्रतिष्ठानको कोभिड अस्पताल भवनमा (धर्मशालाको पूर्वपट्टी) हाललाई ३० (तीस) बेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरिएको छ।
प्रतिष्ठानको इमर्जेन्सीमा तथा ओ.पी.डी.मा उपचारका लागि आएका डेंगुका बिरामीहरुमध्ये सिकिस्त विरामीहरुलाई आईसियू., इमर्जेन्सी र अन्य वार्डहरुमा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरुलाई सो वार्डमा भर्ना गरी उपचार गरिने छ।
हाल कोभिड अस्पतालमा संचालनमा ल्याइएको डेंगु वार्डमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा बेड क्षमता विस्तार एवम सघन उपचार सेवा (आइ.सि.यू) समेत संचालन गरिने प्रतिष्ठानका सह-प्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए।