धनगढी- धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएको आठ दिन पुगेको छ। समायोजन तथा समायोजन मिलान भई कार्यरत कर्मचारीहरु आन्दोलित भएपनि धनगढी उपमहानगरपालिकाले निकास दिन सकेको छैन।
स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी अभाव हुँदा समेत धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले यो विषयमा स्वास्थ्यकर्मीहरुसँग छलफल गरेका छैनन्।
धनगढी उपमहानगरपालिकाले ३३ जना स्वास्थ्यकर्मीको हाजिरी रोक्दा स्वास्थ्य सेवा प्रभावित भइरहेको स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले बताए। उनले भने –‘कर्मचारीलाई हाजिरी गराउन नदिँदा स्वास्थ्य संस्थामा दक्ष जनशक्ति अभाव रहेको छ। अहिले खोप अभियान सञ्चालन हुँदा स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा चलिरहेको छ।’
स्वास्थ्य संस्थामा पुग्ने सेवाग्राहीहरुले रित्तो फर्किनुपर्ने अवस्था आउँदा समेत नगर प्रमुख हमालले यस विषयको समाधान निकाल्नमा ध्यान दिएका छैनन्। हमालले कर्मचारीहरुलाई हाजिरी नलगाउन पत्र पठाएदेखि उनी काठमाडौंमा छन्। नगर प्रमुख नआउँदसम्म यस विषयमा छलफल अघि बढाउने नदेखिएको स्वास्थ्य महाशाखा प्रमुख अवस्थी बताउँछन्।
हाजिरी गर्न रोकाएका स्वास्थ्यकर्मीहरु धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा आठ दिनदेखि धर्नामा छन् भने हाजिरी नरोकाइएका स्वास्थ्यकर्मीहरु आ–आफनो क्षेत्रमा खटिएका छन्। अन्यायमा परेका कर्मचारीहरुको धर्नामा स्वास्थ्यकर्मी संघ, विभिन्न कर्मचारी संघ संगठन, धनगढी उपमहानगरपालिकाका केही वडा अध्यक्षको समर्थन रहेपनि नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले समस्या समाधानतर्फ ध्यान दिएका छैनन्।
उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, १५ र १६ वडामा रहेको स्वास्थ्य चौकीमा दुई÷दुई जना, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मी छन भने अन्यमा एक स्वास्थ्यकर्मीको भरमा सेवा प्रदान गर्नुपर्ने बाँध्यता रहेको छ।