धनगढी- धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाइ हाजिर लगाउन आनाकानी गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन।
धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ। बिहिबार चौथो दिन धर्ना जारी रहेको छ।
धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य भन्दा कर्मचारीलाई कहाँबाट तलब दिने चिन्ता बढेर समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएको जनाइएको छ।
संघीय मन्त्रालयको जिम्मेवारी तलब दिने भएपनि उपमहानगरपालिकाले हाजिर रोक्न गलत भएको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले भने –‘तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन दिएको छैन। अहिले पनि हाम्रो धर्ना जारी रहेको छ।’
देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो। त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छैन। तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको छ।
नयाँ आर्थिक वर्ष शुरु भएसंगै २०७५ सालमा समायोजन र समायोजन मिलान भई कार्यरत कर्मचारीमाथि विभेद गरेको जनाइएको छ। समायोजन र समायोजन मिलान गरि धनगढी उपमहानगरपालिकामा ५६ जना स्वास्थ्यकर्मी कार्यरत थिए।
दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी भएको भन्दै उपमहानगरपालिकाले समायोजन मिलान भएका ३३ जना स्वास्थ्यकर्मीहरुको हाजिरी रोकेको छ। तर, १६ जनाको दरबन्दी रहेकोमा अहिले २३ जना स्वास्थ्यकर्मीहरुलाई कार्य क्षेत्रमा खटाएको छ। जुन कुल दरबन्दीभन्दा सात जना बढी हो।
स्वास्थ्यकर्मीहरु भन्छन –‘दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी राखिएको छ तर, हामी केही समायोजन र समायोजन मिलान भएर २०७५ सालदेखि कार्यरत स्वास्थ्यकर्मीहरुलाई हाजिरी लगाउन दिएको छैनन्। यो सरासर अन्याय र विभेद हो।’ समायोजन मिलानबाटै उपमहानगरपालिकामा कार्यरत सात स्वास्थ्यकर्मीहरुलाई नगर प्रमुख हमालले संरक्षण गरेको उनीहरुको आरोप छ।
अन्यायमा परेका कर्मचारीहरुको धर्नामा स्वास्थ्यकर्मी संघ, विभिन्न कर्मचारी संघ संगठन, धनगढी उपमहानगरपालिकाका केही वडा अध्यक्षको समर्थन रहेपनि नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले समस्या समाधानतर्फ ध्यान दिएका छैनन्।
धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान गरेर आएका स्वास्थ्यकर्मीहरुको हाजिर रोकेपछि स्वास्थ्य संस्थामा जनशक्ति अभाव रहेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्र एक जना स्वास्थ्यकर्मीले हेर्नुपर्ने अवस्था रहेको छ। बिरामी उपचार, मातृशिशु कार्यक्रम, खोप कार्यक्रम लगायतका सामान्यदेखि जटिल उपचार गर्दै आएको सो केन्द्रमा एक जनामात्र स्वास्थ्यकर्मी हुँदा सेवा प्रवाहमा समस्या आएको स्वास्थ्यकर्मीहरु बताउँछन्।
आधारभुत स्वास्थ्य प्रवाह गरिरहेको घोडसुवा स्वास्थ्य चौकीमा अहिले स्वास्थ्यकर्मी नरहेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले बताए। उपमहानगरपालिकाका १९ वटै वडामा आधारभुत स्वास्थ्य चौकी छन्। एक स्वास्थ्य चौकीमा पाँच जना स्वास्थ्यकर्मी हुनुपर्नेमा अहिले अधिकांस एक देखि दुई जना स्वास्थ्यकर्मीको भरमा चलिरहेको छ।
उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, १५ र १६ वडामा रहेको स्वास्थ्य चौकीमा दुई÷दुई जना, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मी छन भने अन्यमा एक स्वास्थ्यकर्मीको भरमा सेवा प्रदान गर्नुपर्ने बाँध्यता रहेको छ।