धनगढी- देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो। त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गरेको छैन। तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको पाइएको छ।
नयाँ आर्थिक वर्ष सुरु भएसंगै २०७५ सालमा समायोजन र समायोजन मिलान भई कार्यरत कर्मचारीमाथि विभेद गरेको पाइएको छ। समायोजन र समायोजन मिलान गरि धनगढी उपमहानगरपालिकामा ५६ जना स्वास्थ्यकर्मी कार्यरत थिए।
दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी भएको भन्दै उपमहानगरपालिकाले समायोजन मिलान भएका ३३ जना स्वास्थ्यकर्मीहरुको हाजिरी रोकेको छ। तर, १६ जनाको दरबन्दी रहेकोमा अहिले २३ जना स्वास्थ्यकर्मीहरुलाई कार्य क्षेत्रमा खटाएको छ। जुन कुल दरबन्दीभन्दा सात जना बढी हो।
स्वास्थ्यकर्मीहरु भन्छन –‘दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी राखिएको छ तर, हामी केही समायोजन र समायोजन मिलान भएर २०७५ सालदेखि कार्यरत स्वास्थ्यकर्मीहरुलाई हाजिरी लगाउन दिइएको छैनन्। यो सरासर अन्याय र विभेद हो।’ समायोजन मिलानबाटै उपमहानगरपालिकामा कार्यरत सात स्वास्थ्यकर्मीहरुलाई नगर प्रमुख गोपी हमालले संरक्षण गरेको उनीहरुको आरोप छ।
हाजिरी गर्न रोकेका स्वास्थ्यकर्मीहरु धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा तीन दिनदेखि धर्नामा छन् भने हाजिरी नरोकीइएका स्वास्थ्यकर्मीहरु आ–आफनो क्षेत्रमा खटिएका छन्। अन्यायमा परेका कर्मचारीहरुको धर्नामा स्वास्थ्यकर्मी संघ, विभिन्न कर्मचारी संघ संगठन, धनगढी उपमहानगरपालिकाका केही वडा अध्यक्षको समर्थन रहेपनि नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले समस्या समाधानतर्फ ध्यान दिएका छैनन्।
धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान गरेर आएका स्वास्थ्यकर्मीहरुको हाजिर रोकेपछि स्वास्थ्य संस्थामा जनशक्ति अभाव रहेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्र एक जना स्वास्थ्यकर्मीले हेर्नुपर्ने अवस्था रहेको छ। विरामी उपचार, मातृशिशु कार्यक्रम, खोप कार्यक्रम लगायतका सामान्यदेखि जटिल उपचार गर्दै आएको सो केन्द्रमा एक जनामात्र स्वास्थ्यकर्मी हुँदा सेवा प्रवाहमा समस्या आएको स्वास्थ्यकर्मीहरु बताउँछन्।
आधारभुत स्वास्थ्य प्रवाह गरिरहेको घोडसुवा स्वास्थ्य चौकीमा अहिले स्वास्थ्यकर्मी नरहेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले बताए। उपमहानगरपालिकाका १९ वटै वडामा आधारभुत स्वास्थ्य चौकी छन्। एक स्वास्थ्य चौकीमा पाँच जना स्वास्थ्यकर्मी हुनुपर्नेमा अहिले अधिकांस एकदेखि दुई जना स्वास्थ्यकर्मीको भरमा चलिरहेको छ।
उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, १५ र १६ वडामा रहेको स्वास्थ्य चौकीमा दुई÷दुई जना, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मी छन भने अन्यमा एक स्वास्थ्यकर्मीको भरमा सेवा प्रदान गर्नुपर्ने बाँध्यता रहेको छ।
स्वास्थ्यकर्मी घटाउँदा सरकारले सञ्चालन गर्ने नियमित कार्यक्रमसंगै आम नागरिकले वडामै पाउने सेवाका लागि सेती प्रादेशिक अस्पताल तथा अन्यत्र जानुपर्ने बाँध्यता आउने महाशाखा प्रमुख अवस्थीले बताए। उनले भने –‘सरकारले २०७४ सालको कर्मचारी दरबन्दीका आधारमा चल्दा समस्या भएको हो। स्थानीय सरकार गठनपछि हरेक वडामा आधारभुत स्वास्थ्य चौकी खुले तर, त्यस अनुसार कर्मचारी दरबन्दी हुन सकेको छैन। अहिलेको संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी दरबन्दी कायम गरिनुपर्छ।’
उनले भने –‘सरकारले २०७४ सालको कर्मचारी दरबन्दीका आधारमा चल्दा समस्या भएको हो। स्थानीय सरकार गठनपछि हरेक वडामा आधारभुत स्वास्थ्य चौकी खुले तर, त्यस अनुसार कर्मचारी दरबन्दी हुन सकेको छैन। अहिलेको संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी दरबन्दी कायम गरिनुपर्छ।’