धनगढी- कर्मचारी समायोजन ऐन २०७५ को दफा ७, समायोजन÷संशोधन र समायोजन मिलान अनुसार आएका गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मीलाई ‘फाजिल’ कर्मचारी भनिएपछि उनीहरु न्यायको खोजीमा भौतारिएका छन्।
आफूहरुलाई ‘फाजिल’ शब्दमा राखिएको र अहिले आएर नगरपालिकाले नै साउन १ गतेदेखि तलब भत्ता खुवाउन नसक्ने भन्दै मन्त्रालयमा उक्त कर्मचारीहरुलाई फिर्ता लैजान भनिएको छ। आफूहरु साउन १ गतेदेखि कहाँ जाने र हाँजिर कहाँ लगाउने भन्नेमा अन्यौलमा रहेको भन्दै ४२ जना स्वास्थ्यकर्मीहरु तनावमा रहेका छन्।
गोदावरी नगरपालिकाले काम गरेबापतको ६ महिनादेखिको तलब भत्ता नदिनुका साथै साउन १ गतेदेखि कार्यालयमा हाजिर नहुन भन्दै पत्र पठाएको गोदावरी स्वास्थ्यकर्मी हकहित संरक्षण संघर्ष तदर्थ समितिका संयोजक हर्कबहादुर खड्काले बताए।
उनले भने,‘हामी नेपाल सरकारको कर्मचारी समायोजन ऐन २०७५ को दफा ७ अनुसार समायोजन भई आएका हौँ, न कि आफ्नै राजीखुसीले कसैको तोक अनुसार आएका हौँ।’
आफूहरुलाई कोरोनाको महामारीमा रातदिन खटाउँदा पनि बिरामीको उपचारमा संलग्न भएको स्मरण गर्दै स्वास्थ्यकर्मीहरुले संस्थालाई समस्या पर्दा रात दिन नभनेरै कोरोनाको महामारीमा खटिए पनि त्यसैको फलस्वरुप आज आफूहरुलाई नै तलबविहीन गराएर ‘फाजिल’ कर्मचारी बनाइएको दुखेसो पोखे। आफूहरु समायोजन भएर आएको यतिका वर्ष भइसक्दा पनि नियमित तलब पाउँदै आएको बताउँदै स्वास्थ्यकर्मी बसन्ती ताम्राकारले भनिन्,‘तर, माघ महिनादेखि भने हामीलाई तलब रोकिएसँगै साउन महिनादेखि नै कार्यालयमा नआउन भनिएको छ।’ आफूहरुले कोरोनामा ‘रिक्स’ लिएर उपचार गरेको प्रतिफल आज आएर ‘फाजिल’ भन्दै कार्यालयमा नआउन पत्र थमाइयो।’
कर्मचारी समायोजन ऐन अनुसार समायोजन भई आएका ४२ जना स्थायी स्वास्थ्यकर्मीलाई ‘फाजिल’ भन्दै उनीहरु साउन १ गतेदेखि नआउन भनिएपछि उनीहरु न्यायको खोजीमा रहेका छन्। ‘हामी अब न्यायको खोजीमा छौँ,’ निलिमा श्रेष्ठले भनिन्,‘लोकसेवा आयोग पास गरेर आएका हामी स्वास्थ्यकर्मी एउटै टेबुलमा बसेर काम गरिरहेका साथीहरु र हामीलाई विभेद गरिएको छ। अहिले आएर हामीलाई नै फाजिल भन्दै कार्यालयमा नआउन भनिएको छ।’
अर्की स्वास्थ्यकर्मी निर्मलाकुमारी भट्टले आफूहरुलाई पालिकाबाटै तलब भत्ता खुवाउने भन्दै सहमति दिएर ल्याइए पनि अहिले आएर ‘फाजिल’ भन्दै अबदेखि कार्यालयमा हाजिर नहुन पत्र थमाइएको बताइन्। उनले भनिन्,‘हामी अब कहाँ गएर हाजिर लगाउने?’ अहिले तलब नपाएपनि हामीलाई दिइने प्रोत्साहन भत्तासम्म पनि दिएको भए गुजारा चल्ने बताउँदै स्वास्थ्यकर्मी कृति पाठकले भनिन्,‘१५ प्रतिशत प्रात्साहन भत्ता पनि दिइएन।
अहिले आएर कार्यालयमै नआउन भनियो।’ नगरपालिकाले असार १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेर साउन १ गतेदेखि लागू हुनेगरी दरबन्दीभन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीलाई तलब भत्ता खुवाउन नसकिने भएको हुँदा मन्त्रालयमा उक्त कर्मचारीहरु फिर्ता पठाइएको छ।
उनीहरुको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमलप्रकाश जोशीले गोदावरी नगरपालिकामा कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भई आएर काम गरिरहेका कुनै पनि कर्मचारीलाई यो या त्यो बहानामा हटाइनु गलत भएको त्यसका लागि स्थानीय र संघीय सरकारले सोच्नुपर्ने बेला आएको बताए।
काम लगाएर पनि पारिश्रमिक नदिइनुले अन्तर्राष्ट्रिय श्रम संगठनको धज्जी उडाएको अनुभूति भएको बताउँदै उनले भने,‘नगरपालिकाले यथाशक्य कर्मचारीको रोकिएको तलब दिइनुका साथै उनीहरुलाई जुन ठाउँमा नियमानुसार सरुवा भएर आएका हुन्, त्यही अनुसार पदस्थापन गरिनु पर्छ।’