छाला विभिन्न कोषहरूको समिश्रण हो। छालामा विभिन्न कोषिकाहरू हुन्छन्। त्यसैगरी, पसिना आउने, छाला चिप्लो बनाउन चाहिने चिज बनाउने ग्रन्थीहरू हुन्छन्। छालालाई कलर लिने, कालो बनाउने, गोरो बनाउने, सेतो बनाउने मेलानोमाहरु हुन्छन्।छालाको क्यान्सर पनि विभिन्न प्रकारको हुन्छ। स्क्वामस सेल कार्सिनोमा, मेलानोमा, बेसल सेल कार्सिनोमा र मर्कलसेल कार्सिनोमा अलिक बढी आम रूपमा देखिने क्यान्सर हुन्। स्क्वामस सेल कार्सिनोमा भनेको चाहिँ छालाको इपिडर्मिसको माथिल्लो सतहबाट आउँछ भने बेसल सेल तल्लो सतहबाट आउँछ। मेलानोमा चाहिँ हाम्रो छालालाई रङ दिने तत्व बनाउने कोषहरूबाट आउँछ। त्यसैगरी मर्कलसेल कार्सिनोमा चाहिँ छालामा हर्मोन, इन्डोक्राइन निकाल्ने तत्वबाट आउँछ।
यी बाहेक कहिलेकहीँ छालामै पनि लिम्फोमा भन्ने ग्रन्थीमा रगतको कोषको क्यान्सर हुन्छ। त्योभन्दा बाहेक कहिलेकाहीँ सार्कोमा भन्ने मांसपेसीका क्यान्सरहरू हुन्छन्। तिनीहरू पनि छालामा आउने सम्भावना हुन्छ। त्यस्तै एचआईभी एड्सहरूमा कपोसी सार्कोमा भन्ने क्यान्सर आउन सक्छ। छालाको पसिना निकाल्ने ग्रन्थीहरूबाट रेअर किसिमका क्यान्सरहरू हुन सक्छन्, जसलाई हामी एपेन्डिसल ट्युमर भन्छौँ।
जोखिमका कारक
छालाको क्यान्सरको जोखिमका कारकहरूमध्ये पहिलो कारक घाम (सन एक्सपोजर) नै मानिन्छ। सन एक्सपोजरमा यूभीए र यूभीबी भन्ने विकिरण हुन्छन्। ती विकिरणमा छालाको क्यान्सर अल्ट्रा भोइलेट बी रेडिएसनको कारणले गर्दा हुन्छ भन्ने अध्ययनहरूले देखाएका छन्। संसारको जुनसुकै कुनामा बसे पनि बिहानको १० बजेदेखि दिउँसोको चार बजेसम्म अत्यधिक यूभीबी रेडियसन पर्छ। त्यस कारण सो समयमा यूभी एक्सपोजर हुने समय भएकाले त्यसले छालाको क्यान्सरको जोखिम बढाउन सक्छ। उचाइ जति बढी भयो त्यति नै त्यो विकिरण बढी आउने सम्भावना हुन्छ। नियमित सन एक्सपोजर हुने ठाउँहरूमा बढी छालाको क्यान्सर भएको पाइन्छ।
रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्तिमा पनि छालाको क्यान्सर हुने सम्भावना उच्च हुन्छ। जस्तै, एचआईभी एड्स भएका व्यक्तिहरूमा, अंग प्रत्यारोपण भएकाहरूमा, रोगसँग लड्ने क्षमता कम गराउने औषधिहरू प्रयोग गरिरहेकाहरूमा पनि छालाको क्यान्सर हुने सम्भावना बढ्छ।यसैगरी निको नहुने घाउ पनि छालाको क्यान्सर हुने जोखिमको कारकमध्ये एक हो। साथै, ह्युमन प्यापिलोमा जुन पाठेघरको मुखसँग सम्बन्धित छ, उक्त भाइरस पनि छालाको क्यान्सरको जोखिमको कारकमध्ये पर्छ। मर्कलसेल कार्सिनोमा नामक छालाको क्यान्सरमा मर्कलसेल पोलियोमा नामको भाइरस पाइएको छ। त्यो भाइरसको संक्रमणले पनि छालाको क्यान्सर हुन्छ भन्ने अध्ययनहरूले देखाएका छन्।
योभन्दा बाहेकका जोखिमहरूमा छालाको क्यान्सर हुनुभन्दा पहिलेको अवस्था जसलाई हामी प्रि–क्यान्सर लिजन भन्छौँ। जुन सन एक्सपोजरको कारणले नै हुन्छ। क्यान्सर हुनभन्दा पहिले नै छालाका अरू रोगहरू पनि क्यान्सरको जोखिमका कारकहरू हुन्। उमेर, छालाको रङ पनि क्यान्सरको जोखिम गराउन सक्ने कुराहरू हुन्। उमेर बढ्दै जाँदा सन एक्सपोजर पनि बढ्दै जान्छ जसले क्यान्सर निम्त्याउन सक्छ। कालो छाला भएकाहरूमा भन्दा सेता छाला भएका गोरा मान्छेहरूमा छालाको क्यान्सर बढी भेटिएको छ। महिलाको तुलनामा पुरुषमा बढी छालाको क्यान्सर भेटिने गरेको छ।
कुनै कारणबस बच्चा बेलामा रेडिएसन थेरापीहरू लिएको थियो भने १०-१५ वर्षपछि ती मानिसमा अन्य मानिसको तुलनामा छालाको क्यान्सर हुने सम्भावना बढी भएको भेटिएको छ। धेरै कोठीहरू अनियन्त्रित रूपमा आइरहेको छ भने त्यो पनि एउटा जोखिमको कारक हो। परिवारमा कसैलाई क्यान्सर छ भने वंशाणुगत रूपमा पनि मेलानोमा भन्ने छालाको क्यान्सर आउन सक्ने सम्भावना हुन्छ। नेपालमा हुने विभिन्न प्रकारका क्यान्सरमध्ये छालाको क्यान्सर प्रमुख १० या २० पर्दैन तर फाट्टफुट्ट रूपमा भने देखिने गरेको पाइन्छ। नेपालमा छालाको क्यान्सरका यति बिरामी छन् भन्ने ठोस तथ्यांक पनि छैन। तर नेपालमा प्रायः देखिने भनेको स्क्वामस सेल कार्सिनोमा, मेलानोमा, बेसल सेल कार्सिनोमा नै हुन्।
कसरी बच्ने?
छालाको क्यान्सर हुन नदिन सन एक्सपोजरलाई लिमिट गर्नुपर्छ। घाममा हिँड्ने समयमा पूरै बाहुला भएको कपडा, ह्याट लगाउने, छाता ओढ्ने र सन्सक्रिम लगाउने गर्नुपर्छ। घाम हाम्रो लागि अत्यन्तै जरुरी पनि हुन्छ। त्यस कारण घाममा बस्ने उचित समय कुन हो त्यो पत्ता लगाउनुपर्छ। शरीरको लागि बिहानको कलिलो हाम उचित हुन्छ। १० देखि चार बजेसम्मको घाममा सकेसम्म एक्सपोज नहुनु भनिन्छ। यदि तपाईंको छाया तपाईंभन्दा सानो छ भने त्यो समय घाममा हिँड्न उचित हुँदैन भनिन्छ। हिँड्दै गर्दा तपाईंभन्दा छाया लामो हुनुपर्छ।
हाम्रो देशमा भर्खरै जन्मिएका बच्चालाई घाममा तेल लगाउने चलन छ। बच्चालाई कडा घाममा राख्नु उचित हुँदैन। बच्चालाई बिहानको पारिलो घाममा तेल लगाउन सकिन्छ। बिहान १० देखि चार बजेसम्मको कडा घाममा राख्नु हुँदैन। आफ्नो छालामा केही परिवर्तन भएको छ या छैन भनेर पनि सचेत हुनु जरुरी हुन्छ। जस्तैः कोठीहरूको आकस्मिक रूपमा आकार, रङ, बोर्डरमा परिवर्तन भयो भने, घाउ लामो समयसम्म निको भएन भने चिकित्सकलाई देखाइहाल्नुपर्छ। हामी मधुमेह भएको अवस्थामा घाउ ढिला निको हुन्छ भनेर बसिरहेका हुन्छौँ। तर कुनै घाउ दुई-तीन हप्ताभन्दा बढीसम्म पनि निको भएको छैन भने देखाइहाल्नुपर्छ।
उपचार पद्धति
छालाको क्यान्सरमा पनि अन्य क्यान्सरमा जस्तै पहिलो, दोस्रो, तेस्रो र चौथो स्टेज हुन्छ। पहिलो स्टेज भनेको छालाको जुन भागबाट क्यान्सर भयो, त्यहीँ मात्रै सीमित हुनु हो। दोस्रो स्टेज भनेको छालाभन्दा तलको भागलाई समेत क्यान्सरले छोएको अवस्था हो। तेस्रो स्टेज भनेको वरिपरिका ग्रन्थीहरूमा फैलिएको अवस्था हो। र, चौथो स्टेज भनेको छाला बाहेक अन्य अंगमा फैलिएको अवस्था हो। क्यान्सरको उपचारमा पहिलाभन्दा धेरै नै परिवर्तन भएको छ। १० वर्ष अगाडि मेलानोमा भन्ने छालाको क्यान्सर भइहाल्यो भने सिधै मृत्यु भन्ने बुझिन्थ्यो। मेलानोमाको चौथो स्टेज भएका बिरामी निको हुने अवस्था थिएन। तर अहिले नयाँनयाँ प्रविधि आइसकेको छ। उपचार गरेपछि धेरै बिरामी वर्षौं बाँचेका उदाहरण छन्।
अन्य क्यान्सरमा जस्तै बिरामीको अवस्था हेरेर छालाको क्यान्सरमा पनि शल्यक्रिया, रेडिएसन थेरापी, किमो थेरापी, टारगेटेड थेरापी, इम्युनो थेरापी लगायतका उपचार प्रक्रिया अपनाइन्छ। इम्युनो थेरापीले छालाको क्यान्सरमा आमुल परिवर्तन ल्याएको छ। छालाको क्यान्सर जोसुकैलाई पनि हुन सक्छ। त्यस कारण आफ्नो छालामा केही परिवर्तन भएको छ या छैन ख्याल राख्नुपर्छ। नुहाउँदा आफ्नो छालामा केही कोठी, गाँठा, घाउहरू आएका छन् कि विचार गर्नुपर्छ। उमेर बढ्दै जाँदा छालामा छिटोछिटो केही परिवर्तन भइरहेको छ कि ध्यान दिनुपर्छ। कोठी त हो, घाउ त हो भनेर हेलचेक्र्याइँ गरेर बस्नुभन्दा समयमै परामर्श गर्नु उचित हुन्छ। समयमै रोग पहिचान भएर उपचार गर्दा बिरामीलाई आर्थिक भार समेत कम पर्न जान्छ। छालाको क्यान्सर सुरुवातमै पहिचान भयो भने निको हुन्छ। त्यसैले सचेत हुन जरुरी छ।
(डा रमिला वीर अस्पतालमा कार्यरत छिन्।)