आँखा प्रकृतिले मानिसलाई दिएको अमूल्य अंग हो। मानव शरीरमा सबै अंगको आ–आफ्नै महत्व भए पनि आँखाको महत्व अरूभन्दा महत्वपूर्ण छ। सामान्य हेलचेक्र्याईँले पनि आँखाको ज्योति गुम्न सक्छ। आँखामा देखिने कुनै पनि समस्यालाई सामान्यरूपमा लिनु हुँदैन। गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्यामा पनि बढ्ने गर्छ। यस्तो बेला प्रायःजसो आँखा चिलाउने, पाक्ने, रातो हुनेजस्ता समस्या धेरै नै पाइन्छ। १४/१५ वर्षका बच्चामा आँखा चिलाउने रोग गर्मीसँगै सुरु हुन्छ। गर्मी सकिएर चिसो मौसमको सुरुवात हुनासाथ ठीक हुन्छ।
आँखाको समस्या देखिँदा सुरुको अवस्थामा रातो देखिन्छ। त्यसपछि आँखाबाट धागोजस्तो लामो चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने र चिलाउने हुन्छ। यसलाई सिजनल एलर्जीक कन्जन्टेभाइटिस भनिन्छ। यो कुनै कीटाणुको कारण नभई वातावरणसँगै आँखामा आउने समस्या हो। गर्मी मौसममा धुलो, धुँवा, बढी हुने तथा रूखमा फुल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्छ। यसका कारण आँखा चिलाउने, राता देखिने, चिप्रा आउने, आँखा मैलो हुनुका साथै नानीमा समेत सेतो दाग देखा पर्नसक्छ। जसका कारण कहिलेकाहीँ नानीमा संक्रमणमा भई दृष्टिसमेत गुम्न सक्छ। आँखा चिलाउने रोगका लागि लामो समयसम्म एन्टीएलर्जीक आईड्रप्स प्रयोग गर्नुपर्ने हुन्छ।
एलर्जीक कन्जन्टेभाइटिसलाई समयमै उपचार गरिएन भने आँखाको नानीको आकारलाई परिवर्तन गर्छ। आकार परिवर्तन भैसकेपछि आँखाको दृष्टि कम हुन्छ। यो ठीक भएपनि नानीमा खत बनाउछ र पछि गएर दृष्टि नष्ट हुन्छ। यसबाट बचाउन सुरुकै अवस्थामा उपचार गर्न जरूरी हुन्छ।
आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गर्छ। आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुनिन्छ। यसमा आँखाबाट आसुँ बग्ने, चिप्रा लाग्ने, परेलीको डिल सुन्निने हुन्छ। जसका कारण घाममा तथा बढी उज्यालोमा आँखा खोल्न गाह्रो हुने, दुख्नेजस्ता समस्या देखिन्छ। आँखा पाक्ने रोगको कीटाणुविरुद्ध एन्टिबायोटिक औषधि चलाउनु पर्ने हुन्छ। त्यसकारण यो रोग लागेमा समयमै चिकित्सकको सल्लाहबमोजिम उपचार गराउनुपर्छ। चिकित्सकको सल्लाह बिना आफैँ औषधि प्रयोग गर्दा कहिलेकाहीँ थप संक्रमण भई अन्धोपनसमेत निम्त्याउन सक्छ।
गर्मीमा आँखा सुख्खा हुने समस्या पनि धेरै नै पाईन्छ। जति गर्मी बढ्दै जान्छ, त्यति नै आँखामा सुख्खापन आउछ। आँखाले नजीकबाट केन्द्रित भएर गर्ने जस्तै कम्प्युटर, ल्यापटप, टिभी हेर्ने जस्ता कार्यमा बढी आँखा सुख्खा हुने हुन्छ। यस्तो कार्यमा आँखाले एकनासले हेर्ने, झिम्काई कम हुने हुदा सुख्खा हुने हुन्छ। साथै गर्मी मौसममा धुलो धुँवा बढी उड्ने हुदा यसले आँखालाई असर गर्ने हुन्छ। वातावरणमा धुलो, धुँवाको मात्रा बढी हुनाले आँशु चाँडै बाफ बनेर जाने हुँदा सुख्खा हुने हुन्छ। यसबाट बच्न धुलो, धुँवाबाट बच्नुका साथै बाहिरी वातावरणमा काम गर्दा कालो चस्मा वा भाइजरको प्रयोग गर्नु राम्रो हुन्छ।
सर्वप्रथम सुख्खा आँखाको समस्या हुने व्यक्तिले आफूले काम गर्ने वातावरण परिवर्तन गर्न जरूरी हुन्छ। कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम र चिसो पानीले मुख धुनु उपयुक्त हुन्छ। मुख्यतया सुख्खा आँखाको उपचारका लागि कृत्रिम आँशुका थोपा नियमित प्रयोग गर्न सकिन्छ। घाममा निस्कदा कालो चम्मा लगाउने, आवश्यक मात्रामा पानी तथा झोलपदार्थ पिउनु पर्दछ। यो समस्याको लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले चिकित्सकसँग नियमित परीक्षण गराउनुपर्छ। गर्मी मौसममा हुने यस्ता समस्याबाहेक डरलाग्दो लक्षण भनेको उज्यालोमा हेर्न गाह्रो हुने हो। यदि आँखा रातो हुने, चिलाउने तथा उज्यालोमा हेर्न समस्या हुन्छ भने आँखाको नानीमा केही खराबी भएको बुझ्नुपर्छ।
आँखाको नानी संवेदनशिल हुन्छ। नानीमा अलिकता धुलो मात्र पर्यो भने पनि आँखाले उज्यालो मन नपराउने हुन्छ। यस्तो समस्या देखियो भने तुरुन्तै आँखा चिकित्सकको सहयोग लिनुपर्छ। गर्मी मौसममा लाग्ने आँखा रोग प्रायः सर्दैनन्। यिनीहरु सिजनल भएका हुनाले वातावरण परिवर्तनसँगै ठीक भएर जान्छ। तर ब्याक्टेरियाका कारण भएको हो भने आँखा पाक्ने रोग सर्न सक्छ। यसबाट बालबालिका बढी प्रभावित हुन्छन्। आँखा रातो भई सुन्निने, आँसु धेरै बग्ने, चिप्रा आई आँखा टालिने, दुख्ने र धमिलो देखिने हुन्छ। यो एक्कासी देखिनुका साथै एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुन्छ। -