मुखको जोर्नी अथवा टेम्पेरोम्यान्डिबुलर ज्वाइन्ट (टीएमजे) यस्तो प्रकारको जोर्नी हो, जसले अनुहारको तल्लो जबडालाई माथि खप्परको हड्डीसँग जोड्ने काम गर्छ। यो जोर्नी दुई कानको ठ्याक्कै अगाडि हुन्छ। यही जोर्नीको मद्दतले गर्दा मुख खोल्न र बन्द गर्नका साथै बोल्न र खान चपाउन मिल्छ।
मानव शरीरमा सवैभन्दा अधिक उपयोग हुने यो जोर्नी औसतमा प्रतिदिन २००० पटकसम्म उपयोग हुन्छ। मुखको जोर्नीको समस्या देखिनुलाई टीएमजे डिसअर्डर वा डिसफङ्सन (टीएमडी) भनिन्छ, जसमा जोर्नीभित्र, जोर्नी आशपासका मांसपेशी र स्नायुबन्धन प्रभावित भएको देखिन्छ।
अध्ययनमा देखाएअनुसार अमेरिकामा एक करोड भन्दा बडी र हाम्रो छिमेकी मुलुक भारतमा २५ प्रतिशत भन्दा बढी जनसंख्या आफ्नो जीवनकालमा एकपटक (कम्तिमा) कुनै न कुनै प्रकारको टीएमजे रोगबाट ग्रसित भएका हुन्छ।
टीएमडी (अनुहारको जोर्नीको रोग)का प्रकारहरु :
यसलाई मुख्यगरी तीन श्रेणीमा वर्गीकृत गर्न सकिन्छ।
१ अनुहारको जोर्नीभित्रको समस्या
२ जोर्नी आसपासको मांसपेशीको समस्या
३ जोर्नी सम्बन्धी नशाको समस्या
यसका लक्षणहरु
यसका लक्षणहरु भिन्न-भिन्न हुन्छन्। साथै अनुहारको एकातिर वा दुवैतिरका जोर्नीमा समस्या देखिन्छन्।
- कानको अगाडिको जोर्नी दुख्ने
- जबडा (चिउडोपट्टी) वा अनुहारका हड्डीहरु दुख्ने
- अनुहार, टाउको, घाँटी वा पाखुरासम्म दुख्ने
- मुख खोल्दा वा बन्द गर्दा कानको अगाडि/जोर्नीमा कट-कट स्वर निस्किने
- मुख खोल्दा वा बन्द गर्दा मुख/जबडा अड्किने र कठिनाइ हुने
- मुख कम खुल्ने वा तल्लो जबडा बांगिएर धेरै खुल्ने
- टाउको, कान र अनुहारको मांसपेशीहरु दुख्ने
- कान कराउनु (टिनिटस)
- खाना चपाउँदा जोर्नी वरिपरीको मांसपेशी, कान, दाँत र जबडा दुख्नु, किट-किट स्वर निस्किनु र खान निल्न असहज महशुस हुनु
- राति सुत्दा दाँत किट्नु र बिहान उठ्दा जबडा कडा भएको महशुस हुनु
- तल्लो र माथिल्लो दाँतको टोकाइमा बदलाव आउनु
कारणहरु
यस समस्याको कुनै एउटा खाश कारण मात्र नभएर, कयौं अलग-अलग कारणहरुको संयोजनको परिणाम हुन सक्छ।
- अनुहारको हड्डी वा जोर्नीमा चोटपटक
- राति सुत्दा दाँत/दाह्रा किट्ने बानी
- टोकाइ नमिलेको आफ्नै प्राकृतिक वा कृत्रिम दाँत
- वंशाणुगत
- मानसिक तनाव
- जोर्नीको हड्डी खिइनु, जोर्नीभित्रको डिस्कको समस्या, जोर्नी ठूलो हुनु वा जोर्नीको ट्युमर
- दाँतको उपचार गर्दा लामो समयसम्म मुख खोलेर गरिने दाँतको उपचार
- तरिका नमिलाइ तार बाँधेर गरिने उपचार
- जोर्नी वा हड्डीको संक्रमण (आर्थराइटिस)
टीएमडी बल्झाउने कारणहरु
- आफ्नो दाँतलाई उपकरणको रुपमा प्रयोग (दाँतले बोतलको बिर्को खोल्नु, कपडाको धागो टोक्नु आदि)
- दाँतले पेन, पेन्सिल, नङ, चुइगम चपाउने बानी
- सुपारी, छुर्पी, पान, गुटखा आदिको सेवन लामो समयसम्म गर्नु
- खराब/गलत शारिरीक मुद्रा (बडी पोस्चर : यसले घाँटी, पाखुरा र अनुहारको मांसपेशीमा अतिरिक्त दबाब दिन्छ।)
- खाना खाँदा ठूलठूलो गाँस मुखुमा लिनु (यसले अनुहारको मांसपेशीमा दबाब दिन्छ)
- दिनको समयमा दाह्रा किट्ने बानी
- घोप्टो परेर सुत्नु ।
उपचार
यस रोगको सही पहिचान र निदानका लागि मुख तथा अनुहार सर्जन जसले अनुहारको जोर्नी लगायत ओरोफेसियल पेन म्यानेजमेन्टमा विशेषज्ञता हासिल गरेको चिकित्सको परामर्श लिनु जरुरी देखिन्छ ।
अनुहारको जोर्नी तथा आसपासका संरचनाको बारेमा बुझ्न विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ।
- अनुहार, दाँत तथा जोर्नीको एक्स रे
- सिटी स्क्यान (हड्डीको संरचनाबारे बुझ्न)
- टीएमजे-एमआरआइ (जोर्नीभित्र र आसपासको नरम तन्तुको बारेमा बुझ्न)
- टिएमएजे आर्थोस्कोपी (दूरबीनको मद्दतले परीक्षण र उपचार)
सही टीएमडीको उपचार कयौं कारकहरुमा भर पर्दछ, जसमा अन्तरनिहित कारण र रोगको गम्भीरता पनि समावेश भएको हुन्छ। सामान्यतया टीएमडी रोगको उपचारको क्रममा गैर-आक्रामक विकल्प पहिले रोजिन्छ। जस्तै औषधी वा विना शल्यक्रिया उपचार। यदि रोगको लक्षणहरुमा सुधार नभएको खण्डमा अनुहारको जोर्नीको शल्यक्रिया पनि आवश्यक हुन सक्छ।
यसको उपचार रोगको प्रकृति हेरेर चिकित्सकको सल्लाह बमोजिम औषधीबाट सुरु गरी, सामान्य शल्यक्रिया हुँदै शल्यक्रिया गर्नेसम्मको हुन्छ।
१ काउन्सिल र परामर्श
सकेसम्म मुख धेरै नबाउने (खाना खाँदा सानो गाँस वा चम्चाले खाने)
- कडा र साह्रो खानेकुरा नखाने/चपाउने
- निद्रा लागेर हाइ आउँदा तल्लो चिउडोलाइ समाएर माथि ठेल्ने, यसो गर्दा मुख धेरै खुल्दैन
- मुख खोली दायाँ-बायाँ जबडा चलाएर आफैंले चेकजाँच नगर्ने । यसो गर्दा जोर्नीमा असर पर्न गई झन् बल्झिन सक्छ।
२ मुख रक्षकः ओरल स्पिलिन्ट वा माउथ गार्ड जस्ता चिकित्सकीय उपकरणले जोर्नीलाई अधिक अनुकुल स्थितिमा राख्न मद्धत गर्छ। जसले दाँत वा अनुहारको जोर्नीमा पर्ने दबाबलाई कम गराउँछ।
३ भौतिक चिकित्साः यसमा आईसोमेट्रिक तथा रेसिस्टेन्ट व्यायाम सामेल हुन्छ। यसमा जबडा फैलाउने जोर्नी आसपासको मांसपेशी मजवुद गराउने काम हुन्छ।
४ ट्रिगर प्वाइन्ट र जोर्नीको ईन्जेक्सनः यसमा लोकल एनेसथेसिया, स्टेरोइड र बोटुलिनम टक्सिन इन्जेक्सन आवश्यकता अनुसार दिइन्छ।
५ फिजियोथेरापी : यसमा टेन्स थेरापी (अनुहारको मांसपेशीलाई आराम दिन) र अल्ट्रासाउण्ड थेरापी (ध्वनी तरंगको मद्धतले जोर्नी र मांसपेशीको गहिराइमा गर्मी उत्पन्न गराई रक्त प्रवाह बढाउने कार्य गर्दछ।)
६) व्यवहार परिवर्तनः यसमा बिरामीको दैनिकी शारिरिक मुद्रामा परिवर्तन/सुधार एवं मानसिक तनाव लगायत बानी सुधार जस्ता कार्य सामेल हुन्छन्।
ग) शल्यक्रियाः
यसलाई सामान्य शल्यक्रिया र शल्यक्रिया गरी दुई किसिमले वर्गीकरण गर्न सकिन्छ।
१ सामान्य शल्यक्रिया
- आर्थोसेन्टेसिस : यो विधिमा जोर्नीलाई भित्रदेखि नै पखाल्ने काम हुन्छ। त्यसपछि आवश्यकता अनुसार सुईको मद्धतले जोर्नी भित्र औषधी राखिन्छ।
- प्रोलोथेरापी : यस विधिमा जोर्नीमा विरामीको रगत, पीआरपी, डेक्सट्रोज लगायतका औषधीहरु प्रयोग हुन्छ। जसले जोर्नीको भित्रको नरम/शुक्ष्म तन्तुहरुमा पुनर्जीवन भर्ने काम गर्छ।
२ शल्यक्रिया
- आर्थोस्कोपी : यो दूरवीनको मद्धतले गरिने जोर्नी भित्रको शल्यक्रिया हो। यसमा जोर्नीको सामान्य जाँचदेखि जोर्नी भित्रको नरम तन्तुहरुको शल्यक्रिया समेत गरिन्छ। कानको अगाडिको जोर्नीमा सानो प्वाल बनाई बिना ठूलो चिरफार नगरी क्यामेराको मद्धतले यो शल्यक्रिया गरिन्छ।
- ओपन ज्वाइन्ट सर्जरीः जब जोर्नीको समस्या जटिल हुँदै जान्छ र माथिको उल्लेखित कुनैपनि विधि अपनाउँदा निको नभएको खण्डमा जोर्नी खोलेर नै आवश्यकता अनुसारको शल्यक्रिया गरिन्छ। यदि जोर्नी पूर्णरुपमा बिग्रिसकेको अवस्थामा पूरै जोर्नीलाई हटाएर कृतिम जोर्नी पुर्नस्थापना गरिन्छ।
( टीएमडी विशेषज्ञ डा साह हिमाल डेन्टल अस्पतालमा कार्यरत छन्)