वीरगञ्ज, पर्सा - वीरगञ्ज छप्कैयाका सुरज महतो माघ पहिलो साता त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ठाकुर राम बहुमुखी क्याम्पस पुगे। साथीसँग पुगेका उनले क्याम्पसको भवन पछाडी ठाउँ–ठाउँमा फोहोरको थुप्रो देखे।
त्यो फोहोरको थुप्रोलाई उनले बेवास्ता गर्न सकेनन्। मोबाइल निकाले, तस्विर खिचे र, ‘सफा नेपाल’ नामक मोबाइल एप्लिकेशन मार्फत रिपोर्ट गरे।
उनले गरेको यो रिपोर्ट वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापन शाखामा पुग्ने रहेछ। केही मिनेटमै उनलाई एउटा नोटिफिकेशन आयो। जसमा लेखिएको थियो, ‘तपाईले गर्नु भएको कम्प्लेन रिपोर्ट भयो। यो समस्या समाधान हुनासाथ हामी तपाईलाई पुनः नोटिफिकेशन पठाउने छौँ।’
फोहोर व्यवस्थापनका लागि सुरजले गरेको यो रिपोर्ट पहिलो भने होइन। उनले यसअघि पनि वीरगञ्ज महानगर भित्रका अन्य ठाउँमा फोहोर देख्नासाथ रिपोर्ट गरिहाल्छन्।
छप्कैयाकै रजिना खातुन पनि फोहोर देख्नासाथ मोबाइल निकालिहाल्छिन्। उनी पनि यो एपबारे पूर्ण रुपमा जानकार छिन्। उनले यो एप बारे साथीबाट थाहा पाएर मोबाइलमा डाउनलोड गरेकी रहेछिन्। उनले एप डाउनलोड गरेकै दिन प्रयोग गरिन्। घर नजिकै थुप्रिएका फोहोरका तस्विर खिचेर महानगरमा उजुरी गर्न उनलाई पाँच मिनेट पनि लागेन। उजुरी गरेको आधा घण्टामा महानगरको गाडी र सफाइकर्मी आएर फोहोर उठाएको उनले बताइन्।
‘अरु बेला फोहोर देख्दा खासै वास्ता हुन्थेन। तर अहिले फोहोर देख्ने बित्तिकै म फोहोर खिचेर कम्प्लेन (उजुरी) गरिहाल्छु’ उनले भनिन्। चलाउन सजिलो र उजुरी दिन पनि महानगरको कार्यालयमा पुग्नु नपर्ने उनी बताउँछिन्।
अहिले अधिकांशको हात–हातमा स्मार्ट फोन छ। त्यही स्मार्ट फोनको माध्यमबाट वीरगञ्ज महानगरलाई सफा राख्न सकिने अवधारणाका साथ ‘सफा नेपाल’ नामको मोबाइल एप प्रयोगमा ल्याइएको योजनामा संलग्न लक्ष्मी गुप्ता बताउँछिन्।
वीरगञ्ज महानगरपालिका र गैर सरकारी संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा एप प्रयोगमा ल्याइएको हो। वीरगञ्ज महानगरलाई सफा र स्वच्छ राख्नु यो एपको मुख्य उद्देश्य हो। नवीनतम प्रविधिको प्रयोग गरी फोहोर व्यवस्थापन गर्ने योजना महानगरको हो।
फोहोरमैला उठाउन प्रयोग गरिदै आएको सात वटा ट्याक्टरमध्ये रुट ट्«याक गर्न तीन वटामा जिपिएस जडान गरिएको छ। जसबाट उक्त ट्याक्टर उजुरी आएको ठाउँमा पुग्यो÷पुगेन, कति समयमा पुग्यो, कहाँ–कहाँ जाँदैछ भनेर अद्यावधिक जानकारी दिन्छ।
उक्त एप २०८९ चैत १७ गते प्रयोगमा ल्याइएको हो। स्मार्ट फोन युवाहरुले बढी चलाउने भएकाले उनीहरुलाई बढी प्राथमिकतामा राखेर एपको विकास गरिएको वीरगञ्ज महानगरपालिकाका आइटी शाखा एवं सफा नेपाल एप्लिकेशनका संयोजक वृजेश प्रधान बताउँछन्।
एप मार्फत दैनिक रुपमा तथ्यांक संकलनमा सहज हुने बताउँदै उनले भने, ‘दैनिक कति उजुरी आउँछन्, कुन ठाउँबाट बढी आउँछ ? दैनिक कति फोहोर उठ्छन् जस्ता तथ्यांकहरु यो एप मार्फत हामीलाई संकलन गर्न सहज हुन्छ।’
महानगरका फोहोर व्यवस्थापन शाखाका कम्प्युटर अपरेटर महम्मद अजारुद्दिन उक्त एप मार्फत गरिएको उजुरी कम्प्युटरको ड्यास बोर्डमा आउने गरेको बताउँछन्। आफुहरुको ड्यास बोर्डमा नोटिफिकेशन आउने बित्तिकै फोहोर उठाउने टोलीलाई जानकारी गराइने गरेको उनले बताए। उजुरी गर्नमिल्ने सेवा २४ घण्टा नै खुला राखिएको छ। सेवाग्राहीबाट आएको उजुरी सकेसम्म छिटो समाधान गर्ने कोशिस गरिएको उनले बताए।
वीरगञ्ज महानगरपालिकामा हाल दैनिक ४० देखि ५० मेट्रिक टन फोहोर उत्सर्जन हुन्छ। यसअघि विभिन्न प्रयास भएपनि व्यवस्थित रुपले फोहोर व्यवस्थापन हुन सकेको थिएन।
फोहोर व्यवस्थापनका लागि यो एप निकै प्रभावकारी बन्दै गइरहेको मेयर राजेशमान सिंहले बताए। हाल दैनिक १५ देखि २० वटा गुनासो एप मार्फत आउने गरेको बताउँदै उनले आधा घण्टाभित्र सम्बोधन गर्ने गरेको जानकारी दिए। जानाजान सडकमा फोहोर फाल्ने नियत भएका व्यक्तिहरुलाई निरुत्साहित गर्न यो एप निकै प्रभावकारी बनिरहेको उनी बताउँछन्। त्यस्ता व्यक्तिलाई कारबाही गर्न पनि एपले सहयोग पुर्याएको उनले बताए।
‘कतै फोहोर फालिएको छ भने हामीलाई तत्काल सूचना प्राप्त भइरहेका छन्। यो एपले तत्काल सूचना प्राप्त गर्न र जानजान फोहोर फाल्ने व्यक्तिलाई कारबाही गर्न मद्दत पु¥याइरहेको छ’ उनले भने।
वीरगञ्जलाई सफा र स्वच्छ बनाउनु आफ्नो पहिलो प्राथमिकतामा रहेको मेयर सिंह बताउँछन्। वडा सफाईको जिम्मा वडामा र मुख्य सडकहरुको सफाईको जिम्मा महानगरले लिएको उनले बताए।
सामाजिक सञ्जाल र स्मार्ट फोनमा धेरैको पहुँच भएकाले महानगरलाई सफा राख्न यो एप प्रभावकारी बन्दै गइरहेको उनको अनुभव छ। महानगरले हालसम्म जथाभावी फोहोर फ्याक्नेबाट १५ लाख भन्दा बढी जरिवाना संकलन गरिसकेको छ।
काठमाडौं उपत्यकामा छैन फोहोरको तथ्यांक व्यवस्थापन
एकातिर फोहोर व्यवस्थापनको समस्यालाई वीरगञ्ज महानगरपालिकाले नवीनतम प्रविधिको प्रयोग गरी समाधानको बाटो पहिल्याएको देखिन्छ। स्पष्ट तथ्यांकले फोहोर व्यवस्थापनका सम्बन्धमा योजना निर्माण गर्दा सघाउ पुग्ने देखेर यसमा लागिपरेको छ वीरगञ्ज महानगर।
एकपछि अर्को समस्या र विवादको बीच पर्ने गरेको काठमाडौं महानगरपालिका भने फोहोर व्यवस्थापनमा भन्दा पनि संकलन र विसर्जनमा मात्र केन्द्रित देखिन्छ। महानगरको वातावरण विभाग तथा कृषि विभागकी उपनिर्देशक स्वयं सरिता राई भन्छिन्, ‘अहिले फोहोरमैलाको व्यवस्थापन जसरी हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन। जस्तो रुपमा संकलन गर्छौ। त्यस्तै रुपमा विसर्जन गर्छौ।’
महानगरमा रहेका ३२ वडामध्ये १४, १६, ३२, ३१, नम्बर वडामा सबैभन्दा धेरै फोहोर उत्पादन हुने गरेको विभागले बताउँछ। तर महानगर भित्रका ३२ वटै वडाबाट दैनिक कति फोहोर संकलन हुने गर्छ भन्ने बारे विभागसँग तथ्यांक वा विवरण छैन। न त ती वडाहरुबाट संकलन हुने फोहोरमध्ये कुहिने र नकुहिने, प्लाष्टिक कति प्रतिशत छन् भन्ने तथ्यांक नै छ। होटल÷बेन्क्योट÷रेष्टुरेण्ट, स्वास्थ्य संस्था, शैक्षिक संस्था, घर, सार्वजनिक स्थानबाट कति फोहोर संकलन हुन्छन् भन्ने तथ्यांक पनि महानगरले राख्ने गरेको छैन।
‘३२ वटै वडाबाट दैनिक कति फोहोर संकलन हुन्छ भन्ने तथ्यांक राख्दैनौ। नीजि क्षेत्रले राख्छन् होला।’ उनले भनिन्, ‘फोहोरको प्रकृति, कम्पोजिसन दैनिक मात्रामा छन् भन्ने तथ्यांक आउँदैन। यो पनि अध्ययनको आधारमा छैन। अनुमान लगाउने मात्र हो।’
महानगरको मोटामोटी आँकडा अनुसार काठमाडौंबाट दैनिक १२ सय मेट्रिक टन फोहोर उत्सर्जन हुन्छ। जसमध्ये ५० प्रतिशत अर्थात् ६ सय मेट्रिक टन फोहोरको हिस्सा काठमाडौं महानगरपालिकाको मात्र छ। संकलितमध्ये १० प्रतिशत फोहोर मात्र पुनः प्रयोग हुने गरेको छ। तर वडा र स्थान अनुसारको छुट्टाछुट्टै तथ्यांक महानगरसंग छैन।
२०७० सालदेखि फोहोर संकलन गर्ने काम गरिरहेको नेप्सेम्याक नामक कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेबाट फोहोर उठाउँदै आएको छ। यस कम्पनीले काठमाडौं महानगरपालिकाको ३, ४, ५ र २६ वडाहरुमा फोहोर संकलनको काम गर्छ।
महानगरको यी वडाहरुमा हप्ताको २/३ पटक फोहोर उठाउने काम गरिरहेको नेप्सेम्याकका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरले जानकारी दिए। नेप्सेम्याकले कतिपय ठाउँमा कुहिने र नकुहिने फोहोर पनि संकलन गर्छ। हप्तामा एक दुई पटक कुहिने र एक पटक नहुकिने फोहोर संकलन हुने गरेको छ। नेप्सेम्याकले आफ्नो शाखा अनुसार फोहोर संकलनको तथ्यांक राख्ने बताएपनि महानगरको मात्र भनेर छुट्टै तथ्यांक नराख्ने गरेको बताउँछन्।
प्रवक्ता घिमिरे भन्छन्, ‘महानगर भनेर मात्र छुट्याएर काम गर्दैनौ। हाम्रो क्षेत्र भित्र रहेको ठाउँको फोहोर उठाउँदै हिड्ने हो। शाखा अनुसार हुन सक्छ। तर महानगर भनेर मात्र छैन।’
गत असारमा बन्चरेडाँडामा फोहोर फाल्ने विषय विवादित बनेपछि साउन १ गतेबाट महानगरवासीलाई घरबाटै फोहोर वर्गीकरण गर्न सूचना जारी गरिएको थियो। फोहोर संकलनका क्रममा वर्गीकरण नगरे पाइए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी थियो।
महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ ९(थ) र फोहोरमैला व्यवस्थापन २०६८ को दफा ३८ (थ) मा जरिवाना गर्न सकिने व्यवस्था छ। तर महानगरको यो निर्णय पनि कागजमै सीमित रह्यो। कार्यान्वयनमा आउन सकेन।
अहिले पनि घरबाट निस्कने फोहोरहरु जस्ताको तस्तै ल्याण्डफिल्ड साइडसम्म पुग्ने गरेको छ। कुहिने फोहारबाट घरमा नै मल बनाउन १, १२, १८, १९, २०, २५ नम्बरका वडाहरुमा समुदायस्तरको तालिम दिइएको राईले जानकारी दिइन्। काठमाडौंमै कुहिने र नकुहिने फोहोरको व्यवस्थापन हुन सके ल्याण्डफिल्ड साइडमा फोहोरको भार कम पर्छ । प्रशोधन गरेर बाँकी रहेका, काम नलाग्ने र पुनः प्रयोग गर्न नमिल्ने फोहोर मात्र ल्याण्डफिल्ड साइडमा लैजाने भनिएपनि यो कामले गति पाउन सकेन।
तथ्यांकको आधारमा फोहोर व्यवस्थापनमा महानगर किन जान सक्दैन भन्ने प्रश्नमा उपनिर्देशक राई भन्छिन्, ‘के गर्ने ? सबै जिम्मा नीजि क्षेत्रलाई दिने अथवा काठमाडौं महानगर आफैँले गर्ने भन्ने विषयमा अलिकति अन्यौलै छ।’
नीतिगत अस्पष्टताका कारण तथ्यांकको आधारितमा फोहोर व्यवस्थापन गर्ने विषय पनि अन्यौलमा परेको उनले बताइन्। महानगरले फोहोर संकलनका लागि पाँच सय कर्मचारी खटाउने गरेको छ। स्रोत साधन, जनशक्तिको अभावमा फोहोर व्यवस्थापनको समस्या समाधान हुन नसकेको उनी बताउँछिन्।
फोहोर व्यवस्थापनमा तथ्यांक संकलन अति आवश्यक
नेपालमा फोहोर व्यवस्थापन सम्बन्धि एसियाली विकास बैंक र राष्ट्रिय तथ्यांक कार्यालयले यस अघि गरेका दुई छुट्टा छुट्ट्रै अध्ययनले पनि तथ्यांकको व्यवस्थापन चुस्त हुनुपर्नेमा जोड दिएको छ। तथ्यांकको उचित व्यवस्थापन र प्रयोगले नयाँ बन्ने योजना प्रमाणका आधारमा हुने हुनाले पालिकाहरुले यसमा प्राविधिक क्षमताको विकास गर्नुपर्ने सुझाव छ।
काठमाडौं महानगरले फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन नसकेको यस क्षेत्रको अध्ययन र अनुसन्धानमा संलग्न मिरा लामिछाने बताउँछिन्। फोहोर व्यवस्थापनका लागि गहिरो विश्लेषण र अध्ययनको आवश्यकता छ। जुन महानगर आफैँले गर्न सकेको छैन। विकसित मुलुकहरुमा फोहोर व्यवस्थापन तथ्यांकमा आधारित भएर हुने गरेको उनी सुनाउँछिन्।
‘जापान, कोरिया जस्ता विकसित मुलुकमा फोहोर संकलनका लागि निश्चित केजीको ब्याग दिइन्छ। बोटल, बिक्रो र प्लाष्टिक छुट्टा छुट्टै गरेर फाल्नुपर्छ’ उनले भनिन्, ‘फोहोर व्यवस्थापनको पहिलो उपाय नै स्रोतको व्यवस्थापन हो। ‘सकेसम्म फोहार घरमै व्यवस्थापन गर्नुपर्छ। तर सरकारले शिक्षा र सचेतनामा कुनै लगानी नै गरेको छैन।’
काठमाडौं महानगरपालिकाको वातावरण विभागका पूर्व प्रमुख इन्द्रमान सिंह सुुवाल फोहोरहरुको व्यवस्थापनका लागि घरबाटै वर्गीकरण हुनुपर्ने बताउँछन्। घरबाट उत्पादन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याउन सके फोहोर व्यवस्थापनमा धेरै हदसम्म सहयोग पुग्ने उनले बताए। फोहोर व्यवस्थापनमा तथ्यांकको निकै महत्वपूर्ण भूमिका हुने भएकाले महानगरले घरमै फोहोरको व्यवस्थापन गर्न सके तथ्यांक संकलनमा पनि सघाउन पुग्ने उनले बताए।
‘महानगरले लगानी अब यसैको लागि गर्नुपर्छ। नहुकिने फोहोर मात्र महानगरले लियो भने रेष्टुरेण्ट, विद्यालय, अस्पताल, घर, सानो पसलबाट कति र कस्तो किसिमको फोहोर उठ्छ भन्ने जानकारी र तथ्यांक राख्न सजिलो हुन्छ।’ उनले भने।
फोहोर संकलनका लागि महानगरले हाल ३५ वटा नीजि संस्थाहरुसँग सहकार्य गरिरहेको छ। उनीहरुसँग औपचारिक रुपमा सम्झौता भएको छैन। अनौपचारिक रुपमा महानगरले यी नीजि संस्थासँग सहकार्य गरिरहेको छ।
अव्यवस्थित फोहोरले निम्त्याउँछ स्वास्थ्य समस्या
काठमाडौंको चोक अनि गल्लीहरुमा यत्रतत्र थुप्रिने फोहोरका डुंगुरहरुले अनेक थरीका स्वास्थ्य समस्या निम्तिने चिकित्सक र विज्ञले बताउँदै आएका छन् । सरुवा रोग फैलनुको एक कारण फोहोर पनि हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। उनी भन्छन्, ‘लामो समयदेखि थुप्रिएको फोहोर नउठ्दा ती सडकमै कुहिन्छन् जसले संक्रमण र रोग फैलाउने काम गर्दछ।’
कयौ सातादेखि थुप्रिने फोहोरले तत्कालीन र दीर्घकालीन दुवै खालको स्वास्थ्य समस्या निम्त्याउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनी बताउँछन्।
‘फोहोरले झाडापखाला, आउँ, हैँजा, टाइफाइड जस्ता सरुवा रोग बढाउन मद्दत गर्छ’, उनी भन्छन, ‘काठमाडौंमा डेंगु बढाउन फोहोरले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।’
तथ्यांक पत्रकारिता केन्द्रकाे सहकार्यमा तयार पारिएको रिपोर्ट।
सबै तस्बिर : कमला गुरुङ