काठमाडौं- श्रीलङ्काका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मिर्गौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलङ्काको सेनाले बुधबार दाबी गरेको छ।
सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औंस) थियो। जुन औसत पुरुष मिर्गौलाको तौलभन्दा पाँच गुणा बढी हो। कूञ्जको मिर्गौलाको पत्थरी १३.३७ सेन्टिमिटर (५.२६ इन्च) लामो थियो। औसत मिर्गौला १० देखि १२ सेन्टिमिटर लामो हुन्छ।
“जुन १ मा कोलम्बो आर्मी अस्पतालमा एक ठूलो शल्यक्रियामार्फत मिर्गौलामा रहेको अहिलेसम्मको विश्वको सबैभन्दा ठूलो पत्थरी निकालिएको थियो,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कूञ्जले स्थानीय स्वर्णवाहिनी टिभीसँग कुरा गर्दै सन् २०२० देखि पेट दुखेको र मुखको औषधिले सहयोग नगरेको बताए। उनले भने, “हालैको स्क्यान (परिक्षण) पछि मलाई शल्यक्रिया गर्न भनिएको थियो। म अहिले सामान्य महसुस गरिरहेको छु।”
गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मिर्गौलाबाट ६२० ग्राम पत्थर जम्मा भएको रेकर्ड गरिएको थियो।
गिनिज बुक अफ वल्र्ड रेकर्ड्ले मान्यता दिएपछि अधिकारीहरूले बुधबार उक्त खोजको घोषणा गरेका हुन्। “हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा पत्थरी निकालेपछि मिर्गौलाले सामान्य रुपमा काम गरिरहनु हो र यसमा हाम्रो टोली सफल भएको छ,” सेनाका सर्जन के सुदर्शनले भने।
मिर्गौलामा खनिज पदार्थ र लवण क्रिस्टलीकृत हुँदा रगतलाई फिल्टर गर्दा पत्थरी जम्मा हुन्छ। यदि पत्थरीहरू धेरै ठूलो छन् भने नियमित सर्कुलेसनमा कष्टदायी पीडा हुन सक्छ र तिनीहरू अड्किएका छन् भने शल्यक्रियाको आवश्यकता पर्दछ।
एएफपी