धनगढी- ‘बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने छ’ सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा भनिएको छ। प्रदेश सरकारले उल्लेख गरेको लम्कीचुहा अस्पताल प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्र हो भने बाजुरा आर्थिक मामिला मन्त्री नरेश शाहीको निर्वाचन क्षेत्र हो।
भौतिक संरचना, जनशक्ति, उपकरण व्यवस्थापन लगायतलाई ध्यानमै नराखी वर्तमान सरकारले आफनो निर्वाचन क्षेत्रलाई केन्द्रमा राखी ल्याएको यो कार्यक्रम नौलो भने होइन्। मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वको सरकारले प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकी स्तरोन्नति गर्ने भन्दै भवन निर्माण गर्दा पहुँचकै आधारमा बजेट विनियोजन गरेको थियो।
मुख्यमन्त्री र मन्त्रीलेनै आफनो निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर प्रादेशिक अस्पताल बनाउने नीति लिएपछि विभिन्न अस्पतालहरुले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन्। ‘जिल्ला अस्पतालकै रुपमा विशेषज्ञसहितका विभिन्न सेवा प्रदान गर्दै आएका अस्पताललाई प्राथमिकता राख्नुभन्दा प्रदेश सरकारले आफनो निर्वाचन क्षेत्रलाई महत्व दिँदा कार्यक्रम पनि कागजमै सिमित हुने सम्भावना बढी रहन्छ’ टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपडबहादुर सोडारी भन्छन्।
‘जुन अस्पतालमा जनशक्ति, उपकरण, भौतिक संरचना छ र त्यहाँ आउने विरामीको चाँप, उसले प्रदान गरिरहेको सेवाका आधारमा प्रदेश सरकारले अस्पताल स्तरोन्नतिको नीति लिनुपर्ने थियो’ सोडारीले भने –‘तर, हचुवाको भरमा ल्याइएका कार्यक्रम कार्यान्वयन नभएपछि सरकारले आक्षेप खेप्नुपर्ने अवस्था आउँछ। त्यसैले प्रादेशिक अस्पताल बनाउने नीतिमा सरकार गम्भिर हुनुपर्छ।’
सरकारले विगतमा घोषणा गरेका प्रादेशिक अस्पताल पनि अहिले विभिन्न समस्या झेल्दै आएका छन्। उनले भने –‘अहिले पनि सेतिमा विभिन्न विशेषज्ञसहितका विभिन्न सेवाहरु प्रदान भइरहेको छ। दुई सय सैय्या घोषणा त भयो तर, भवन र जनशक्ति व्यवस्थापन छैन्। जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ। त्यसतर्फ सरकारले ध्यान दिन जरुरी छ।’
कस्तो छ लम्कीचुहा अस्पताल ?
सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै नीति तथा कार्यक्रममा प्रादेशिक अस्पताल बनाउने भनेको लम्की चुहा अस्पतालको प्रमुख समस्या पनि जनशक्ति र भवन अभाव हो। अस्पतालका इन्चार्ज गंगाराम अधिकारीले भने –‘प्रादेशिक अस्पताल बनाउने प्रस्तावना त हो। यसको लागि नयाँ भवन बनिरहेको छ। डिपिआर तयार भइरहेको छ। तर, भवन र जनशक्ति अभावले समस्या रहेको छ।’
प्रदेश सरकारले बलिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ सय्याको लम्की चुहा अस्पतालमा परिणत गरेको थियो। अस्पतालले अहिले ओपिडि, एक्सरे, भिडियो एक्सरे, इसिजी, प्रयोगशाला, इन्डोस्कोपी, प्रसुति सेवा, फार्मेसी लगायतका सेवा प्रदान गरिरहेको छ।
अस्पतालमा तीन जना चिकित्सकसहित एक जना गाइनो (प्रसुति) चिकित्सक र एमडी रहेका छन्। अस्पतालमा दैनिक जसो ढाइ सय बढी विरामी सेवा लिन आउने गरेको उनी बताउँछन्। उनले भने –‘विरामीको चाप छ। तर, जनशक्ति व्यवस्थापन छैन्।’
दुई चिकित्सकले सेवा दिइरहेको कोल्टी
सुदूरपश्चिम प्रदेशकै दुर्गम जिल्लाका रुपमा रहेको बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने नीति लिएको छ। ११ सैय्याका रहेको सो अस्पतालमा एक जना एमडिजिपी र एक मेडिकल असिसटेण्टसहित अनमी, नर्सहरु कार्यरत छन्।
ओपिडि, एक्सरे, भिडियो एक्सरे, इसिजी, प्रयोगशाला, इन्डोस्कोपी, प्रसुति सेवा, फार्मेसी लगायतको सेवा प्रदान गरिरहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन जिर्ण अवस्थामा रहेको छ। ‘अहिले प्रदेश सरकारले २५ सैय्याको अस्पताल बनाउने भन्ने सुनेका छौं। बुढीनन्दा नगरपालिकाले कार्यविधिनै बनाएर १५ सैय्याको अस्पताल बनाउने तयारी गरेको छ’ बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले भने –‘प्रदेशले २५ सय्या अस्पताल बनाए। नगरपालिकाले केही गर्नुपर्दैन। तर, प्रमुख कुरा भनेको अस्पतालका लागि भवन र जनशक्ति हो। त्यसमा ध्यान दिनुपर्छ।’
टीकापुरलाई प्रादेशिक अस्पताल बनाउनुपर्ने माग
कैलालीस्थित टीकापुर अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा नामाकरण गर्नुपर्ने सो क्षेत्रका स्थानीयहरुको माग रहेको छ। ‘प्रदेश सरकारले चार वटा स्वास्थ्य संस्थालाई प्रादेशिक अस्पताल बनाउने नीति तथा कार्यक्रममा भनेको छ। तर, त्यसमा टीकापुर अस्पताल छुटेको छ। म सरकारलाई यो ध्यानाकर्षण गराउन चाहन्छु’ प्रदेश सभा सदस्य गितादेवी मालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सुझाव दिएकी थिइन्। टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपडबहादुर सोडारीले अस्पताललाई प्रादेशिक नाम नदिइदा राज्यबाट प्रदान हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए।
उनले भने –‘दैनिक सात सय बढी विरामीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ। विभिन्न विशेषज्ञसहितका सेवाहरु पनि उपलब्ध छन्। यहाँ नेपालगञ्जबाट पनि सेवा लिन आउँछन्। तर, प्रादेशिक नामाकरण नगर्दा सरकारले अनुदान घटाउँदै लगको छ।’ उनले टीकापुर क्षेत्रका लागी एउटा प्रादेशिक अस्पतालको आवश्यकता रहेको बताउँदै –‘टीकापुर अस्पताललाई जिल्लाबाट प्रादेशिक बनाइनुपर्छ।’ टीकापुर अस्पतालमा भजनी नगरपालिका, जोशिपुर गाउँपालिका, मोहन्याल गाउँपालिका, लम्की चुहा नगरपालिकाका साथै छिमेकी जिल्ला डोटी, सुर्खेत, बर्दिया, नेपालगञ्जबाट विरामीहरू आउने गरेको उनले बताए। उनले आपतकालीन समयमा उपचार गर्नका लागि पनि थोरै बेडहरू रहेकाले उपचार गर्न पनि असहज हुने गरेको बताए। उनले अस्पतालसंग १२ विगाह भन्दा धेरै जग्गा भएता पनि उचित प्रयोग हुन नसकेको बताए।