काठमाडौं- भरतपुर अस्पतालले एमडी गरेका विशेषज्ञ चिकित्सकलाई आठौँ तहको लागि दरखास्त आव्हान गरेको छ। अस्पतालले मङ्गलवार एक सूचना जारी गर्दै एमडी गरेका विशेषज्ञ चिकित्सकलाई आठौँ तहमा नियुक्त गर्न दरखास्त आव्हान गरेको हो।
अस्पतालले करार र ज्यालादारीमा आठौँ तहमा दुई जना बालरोग विशेषज्ञ, दुई जना एनेस्थेसियोलोजिष्ट, एक एक जना प्याथोलोजीष्ट र गाईनोकोलोजिष्ट माग गरेको सूचनामा उल्लेख छ। यी सबै पदका चिकित्सकका शैक्षिक योग्यता भने एमडी गरेको हुनुपर्ने भनिएको छ।
एमबीबीएस गरेका चिकित्सकले नै आठौँ तहमा नियुक्ति हुन पाउने व्यवस्था छ। तर भरतपुर अस्पतालले जारी गरेको सूचना अनुसार एमडी गरेका विशेषज्ञ चिकित्सकहरूलाई आठौँ तहमा नियुक्त गर्न लागेको छ।
सोही सूचनामा एक जना युरोलोजिष्ट र एक जना क्रिटिकल केयर फिजिसियनलाई नवौँ तहको लागि आव्हान गरेको छ। सूचनाअनुसार युरोलोजिष्टको शैक्षिक योग्यता भने सर्जरीमा एमएस गरी युरोलोजीमा एमसीएच गरेको हुनुपर्ने र क्रिटिकल केयर फिजिसियनको भने मेडिसिनमा एमडी गरी क्रिटिकल केयर मेडिसिनमा डीएम गरेको हुनुपर्ने भनिएको छ। एमसीएच गरेका चिकित्सकले दशौं तहमा नियुक्ति हुन पाउने व्यवस्था छ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्की विशेषज्ञ चिकित्सकहरूलाई आठौँ तहमा नियुक्त गर्नु गलत भएको बताउँछन्। भरतपुर अस्पताल सँगै प्रसूति गृह र देशका अन्य अस्पतालहरूमा समेत यो गल्ती भएको उनको भनाइ छ। 'यो सरासर गलत काम हो। एमडी गरेका विशेषज्ञ चिकित्सकलाई आठौँ तहमा नियुक्ति दिन मिल्दैन। एमडी गरेका चिकित्सकलाई नवौँ र एमसीएच गरेकालाई दशौँ तहमा नियुक्ति दिनु पर्छ। सरकारले यो गलत कामलाई सच्याउन जरुरी छ,' उनले भने।
अस्पतालले यीसँगै दुई जना एनेस्थेसिया असिस्टेन्ट, आठ जना फार्मेसी सहायक र एक एक जना इलेकट्रिकल सव इन्जिनियर र सिभिल सव इन्जिनियरको समेत दरखास्त आव्हान गरेको छ।