काठमाडौं- कैलालीको गेटामा विश्वविद्यालयको माग राख्दै प्रदेश प्रमुख देवराज जोशीको कार्यालय अगाडि धर्ना दिइएको छ। विश्वविद्यालय संघर्ष समितिको अगुवाइमा मंगलबार आँखा र मुखमा कालोपट्टी बाँधेर धर्ना दिइएको हो।
सरकारले गत माघ २९ गते गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सरकारले जेठ ५ गते ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि ऐन तर्जुमा गर्ने र विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख थियो।
जेठ १५ मा ल्याइएको बजेटमा गेटामा एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने कुरो आएपछि सुदूरपश्चिममा आन्दोलन थालिएको हो। संघर्ष समितिले यस अघि सुदूरपश्चिम प्रदेश बन्द, प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभा जान रोक लगाएका थियो। उक्त संघर्षलाई केही राजनीतिक दलसहित सर्वसाधरणहरुले साथ दिइरहेका छन्।