विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा हुने कुल मृत्युमा नसर्ने रोगका कारणबाट हुने मृत्यु ७४ प्रतिशत हुने बताइएको छ। उच्च रक्तचाप मधुमेह मोटोपना क्यान्सर हृदयघात स्वास प्रश्वासका समस्या मानसिक समस्या आदि नसर्ने रोगहरु मुख्य रुपमा उच्च जोखिम युक्त रोगहरु हुन्। नसर्ने रोगहरुको कारण मुख्य रुपमा अव्यवुथित जिवनशैलि र अस्वस्थकर खानपान हुन्। आयुर्वेदको विकासक्रमको सुरुवाती समयदेखि नै स्वास्थ्य प्रवर्द्न एवं संरक्षणका लागि गर्न सकिने उपाय एवं आहार व्यवहारहरुका बारेमा वर्णन गरिएको छ। चरक संहितालाई आयुर्वेदको प्राचिनतम ग्रन्थहरुमध्ये एक मानिन्छ। चरक संहितामा प्रष्ट रुपमा आयुर्वेदको प्रयोजन अन्तरगत स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षा र रोगी व्यक्तिको रोग उपचार उल्लेख गरिएको छ। आयुर्वेद संहिताहरुमा स्वस्थ रहनका लागि पालना गर्नुपर्ने विभिन्न विधि उपायहरुको बारेमा वर्णन पाईन्छ।
स्वस्थ रहन दैनिक रुपमा पालना गर्नुपर्ने दैनिक क्रियाकलापहरुको वर्णन आयुर्वेदका मुख्य संहिताहरुमा प्रशस्त पाइन्छ। उक्त क्रियाकलापहरुलाई दिनचर्या अन्तर्गत वर्णन गरिएको छ। विभिन्न मौसमहरुमा मानिसको र पर्यावरणीय गुण शक्ति क्षमता फरक फरक हुने हुनाले मौसम अनुसारको खानपान व्यवहार र गर्न नहुने कामहरु र खान नहुने आहार हरुको बारेमा मौसम अनुसारको वर्णन ऋतुचर्या अन्तर्गत सुक्ष्म रुपमा पाईन्छ। मौसम परिवर्तन हुँदा हुने असात्म्जनक रोगहरु र उक्त रोगहरुको प्रभाव कम गर्न ऋतुसन्धिको चर्चा गरिएको छ।
त्रयो उपस्तम्भ अन्तरगत आहार निद्रा र ब्रम्हचर्यको सबिस्तार वर्णन पाईन्छ। आहारका प्रकार आहार ग्रहणका विधि अन्नको प्रकार अन्न संग्रह गर्ने तरिका ऊचित अन्नले स्वास्थमा पार्ने अनुकुल प्रभावको उल्लेख गरिनुका साथै दुषित आहारको वर्णन र उक्त आहारहरुबाट स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरहरुको वर्णन आयुर्वेदका संहिताहरुमा प्रसस्त पाईन्छ। उक्त आहारसम्बन्धी नियमहरुको पालना गर्दा अस्वस्थ्यकर आहार र आहार विधिबाट मानवमा लाग्न सक्ने नसर्ने रोगहरुको जोखिमबाट बच्न सकिन्छ।
निद्राको समय निद्रा लगाऊने तरिका कम निद्राको कारण अधिक निद्राको कारणहरुको सबिस्तार वर्णन आयुर्वेदमा पाईन्छ। ऋतु अनुसारको निद्राको समय स्थानको वर्णन पनि गरिएको छ। निद्रालाई मानसिक र शारिरिक बिश्रामका लागि मुख्य स्तम्भ मानिएको छ। मानसिक सामाजिक अध्यात्मिक स्वास्थ प्रवर्द्धनका लागि निद्रा र ब्रम्हचर्यको उचित पालना गर्नुपर्ने बताईएको छ। आचार रसायन सद्बृत योग प्रणायाम ध्यान धारणा आसनका आयुर्वेद सम्मत पालना मानसिक सामाजिक र आध्यात्मिक स्वास्थ संरक्षण प्रवर्द्धन र नियमनका लागि वरदान साबित हुन सक्छन्।
विश्व स्वास्थ्यको नै चुनौती बनिरहेको नसर्ने रोग नियन्त्रण एवं व्यवस्थापनका लागि आयुर्वेदमा वर्णन गरिएको स्वास्थ्य प्रवर्द्नका उपायहरु सहायक हुन सक्छन्। विश्व स्वास्थ्य संगठनले जिवनशैलि परिवर्तन आहार अनुशासनका विभिन्न आयुर्वेदमा वर्णन गरिएको माथि उल्लेखित विषयमाथि सुक्ष्म अनुसन्धान गरेर विभिन्न मापदण्ड तयार गर्नुपर्ने आवश्यकता छ। लगभग दुई हजार वर्ष पहिले ग्रन्थगत गरिएको संहिताहरुको वैज्ञानिक पाटो अन्वेषण हुनुपर्दछ। प्राचीन समयमा स्वास्थ्य सम्बर्द्धन प्रवर्द्नका लागि अपनाईएको आयुर्वेदका सबै पक्ष आजको समयमा पनि अपनाउने तर्फ मानवजातिलाई प्रोत्साहन गर्नु आजको आधुनिक स्वास्थ्य प्रणालीको आवश्यकता हो। वैकल्पिक मानिदै आएको आयुर्वेद चिकित्सा प्रणालीलाई सहायक चिकित्सा प्रणालीको रुपमा विकास गरि नसर्ने रोग व्यवस्थापनमा विश्वमै नमुना राष्ट्रका रुपमा आफूलाई ऊभ्याउन सक्ने मौका नेपाल जस्तो विकासशिल राष्ट्रसंग छ।
(लेखक आयुर्वेद चिकित्सक हुन्।)