काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वैदेशिक मामिला विषयका पूर्व सल्लाहकार हिराबहादुर थापाको उपचारका लागि सरकारले सात लाख रुपैयाँ दिने भएको छ। थापा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा सल्लाहकार थिए।
नेपाल सरकारका पूर्व कामु परराष्ट्र सचिव थापालाई क्यान्सर उपचारका लागि सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। थापाको भारत नयाँ दिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचार भइरहेको छ। थापालाई फोक्सोमा क्यान्सर देखिएको छ।
थापालाई नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी दोस्रो संशोधन कार्यविधि २०७३ मा रहेको व्यवस्था अनुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले जानकारी दिए। उक्त कार्यविधिको दफा १२ मा शिक्षा, कला, साहित्य, संगित, राजनीति, सार्वजनिक प्रशासन, कानुन वा न्याय, सुरक्षा, सञ्चार, खेलकुद लगायत सामाजिक र राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका व्यक्तिका लागि बढीमा सात लाख रुपैयाँ दिने व्यवस्था अनुसार नै रकम उपलब्ध गराउने निर्णय भएको ती कर्मचारीले जानकारी दिए।
मन्त्रिपरिषदको गत चैत १६ गतेको निर्णय अनुसार नै थापालाई रकम उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्यले मन्त्रिपरिषदको निर्णय अनुसार रकम प्रदान गर्न रकम निकासाका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको छ। अर्थले रकम उपलब्ध गराउनेवित्तिकै थापालाई रकम पठाउने मन्त्रालयको तयारी छ।