काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेट वक्तव्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख छ। तर स्वास्थ्य मन्त्रालयले उक्त वक्तव्यमा विनियोजित भनिएको रकमभन्दा दुई अर्ब ११ करोड रुपैयाँ बढी बजेट पाएको छ।
संसदमा छलफलका क्रममा रहेको आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुलाई उपलब्ध गराइएको रेडबुकको प्रतिलिपिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ छुट्याइएको उल्लेख छ। रेडबुकको प्रतिलिपिमा संघ, प्रदेश र स्थानीय तहसमेत गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ वजेट वक्तव्यमाभन्दा २ अर्ब ११ करोड रुपैयाँ बढी बजेट राखिएको छ।
संघ, प्रदेश र स्थानीय तहमा कति बजेट?
रेडबुकको प्रतिलिपि अनुसार अब संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने कार्यक्रम र आयोजनाका लागि ४९ अर्ब ८० करोड ५४ लाख रुपैयाँ, प्रदेशमा ६ अर्ब १२ करोड ७२ लाख र स्थानीय तहका लागि ३० अर्ब १७ करोड ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। वजेट वक्तव्यमा भने तीन तहका सरकारलाई स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको उल्लेख थियो। बजेट वक्तव्यको अनुसूचीमा उक्त रकममध्ये संघीय मन्त्रालयलाई ४९ अर्ब ८० करोड ५४ लाख, प्रदेशलाई ६ अर्ब ५ करोड ८८ लाख रुपैयाँ र स्थानीय तहलार्ई २८ अर्ब १२ करोड ७६ लाख रुपैयाँ छुट्याइएको उल्लेख छ। रेडबुकको प्रतिलिपिका आधारमा हेर्दा प्रदेशमा केही र स्थानीय तहमा २ अर्बभन्दा बढी रकम थप भएको देखिन्छ।
चालु आर्थिक वर्षमा स्वास्थ्यमा १ खर्ब ३ अर्ब ९ करोड १३ लाख बजेट हुँदा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६९ अर्ब ३८ करोड २ लाख रुपैयाँ पाएको थियो। प्रदेशले ६ अर्ब २२ करोड ६८ लाख रुपैयाँ र स्थानीय तहले २७ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ पाएको थियो। यस हिसाबले हेर्दा स्वास्थ्यले चालु वर्षको तुलनामा १७ अर्ब हाराहारीमा कम बजेट पाएको देखिन्छ। बजेट वक्तव्यमा भने १९ अर्ब ५७ करोड कम बजेट आएको थियो।
हेरौं रेडबुकको प्रतिलिपि र बजेट वक्तव्यमा उल्लेख बजेट