काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका लागि ४९ अर्ब ८० करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले संघीय मन्त्रालय, विभाग, बीमा बोर्ड, प्रतिष्ठान, अस्पतालहरु र पूर्वाधार निर्माण र खरिदका लागि संघीय मन्त्रालय अन्तर्गतका अस्पताल र निकाय तथा कार्यक्रमका लागि उक्त बजेट छुट्याएको हो।
विनियोजित बजेटमध्ये सबैभन्दा धेरै बजेट स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत रहेको छ। उक्त कार्यक्रम अन्तर्गत ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ रहेको छ। त्यसपछि स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ रकम विनियोजना गरिएको छ भने एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रमका लागि ७ अर्ब ४७ करोड ६४ लाख रकम रहेको छ। केन्द्रिय अस्पताल तथा प्रतिष्ठानहरुका लागि ४ अर्ब ४७ करोड २७ लाख रुपैयाँ छुट्याइएको छ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षका लागि ५ अर्ब ३२ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। परिवार कल्याण कार्यक्रमका लागि ३ अर्ब ५२ करोड, २९ लाख रुपैयाँ, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमका लागि २ अर्ब ५७ करोड ५ लाख, क्षयरोग नियन्त्रणका लागि १ अर्ब १५ करोड रुपैयाँ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ अर्ब ८८ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ।
स्वास्थ्य मन्त्रालय र मन्त्रालय मातहतका निकाय र कार्यक्रमलाई कति बजेट?