काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वदेशी औषधि उद्योगको विकासका लागि नीतिगत सुधारका लागि सहकार्य गर्न तयार भएको बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आायोजना गरेको ‘नेपाली औषधि उद्योगको विकास र चुनौती विषयक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भरसंगै गुणस्तरीय बनाउनुपर्ने बताए।
देश औषधि तथा खाद्यान्नमा आत्मनिर्भर भए मात्र देशको विकास हुने उनले बताए। उनले सरकार नेपाली औषधि उद्योगलाई सधै संरक्षण गर्ने बताए। मन्त्री बस्नेतले उद्योगीहरुलाई जनताका लागि राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा कही कतै झन्झट भएमा उक्त विषय आफू समक्ष ल्याउन आग्रह गरे।
उनले भने ‘तपाइले देशका र जनताका लागि राम्रो काम गर्दा गर्दै बढी दुख पाउनुभयो भने त्यो पनि कुनै व्यक्तिका कारणले भने म त्यसो हुन दिन्न तर नीति गत कुरा हो भने त्यसमा सबै पक्षको साथ र सहयोग आवश्यक पर्छ मैले एक्लै सक्ने कुरा भएन तर स सधै प्रयासरत भने रहन्छु।’
उनले औषधि उद्योगलाई नियमन गर्नुपर्ने भन्दै भएकालाई संरक्षण गर्दै जानुपर्ने बताए। मन्त्री बस्नेतले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा राखेर जनतालाई सेवा दिने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपाललाई औषधिमा आत्मनिर्भर गराउन नेपालमै उत्पादन भएका औषधि आयात बन्द गर्नुपर्ने बताए। उनले नेपालका औषधि उद्योगहरु ५० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भइरहेको बताउँदै राज्यले सहयोग गरेमा दोब्बर बढी उत्पादन गर्न सकिने भन्दै सरकारको ध्यानाकर्षण गराए।
सात अर्बको कच्चा पदार्थ भित्राउँदा करिब ३० अर्ब बढीको उत्पादन गर्न सकिने उनको भनाइ छ। उनले भने ‘हामीले सात अर्बको कच्चा पदार्थ ल्यायौँ भने त्यसबाट हामीले ३० अर्ब बढी आर्जन गर्न सक्छौँ अर्को कुरा त्यसभित्र नेपाली श्रमीले रोजगारी पाउँछन्। राज्यको पुँजी स्वदेशमै रहन्छ आत्मनिर्भर पनि हुन्छौँ भने अर्को तर्फ हाम्रा उत्पादनले विदेशी मुद्रा भित्राउन सहयोग गर्छ।’
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधी उद्योगलाई प्रर्वद्धन गर्न भएका ऐन तथा नियमावली कार्यान्वयन गर्नुपर्ने बताए। ढकालले सरकारले तय गरेका नेपाली औषधि प्रवर्द्धनका सबै नीति नियमहरु कार्यन्वयन गर्न नसकिएको बताए। उनले सरकार सधैँ नेपाली औषधि उद्योगीको पक्षमा रहेको बताए।
कार्यक्रममा औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाली औषधि गुणस्तरयुक्त रहेको बताए। पाण्डेले आयातित सामानलाई मात्रै विश्वास गर्ने नेपाली प्रवृत्तिले नेपाली औषधि उधोग फस्टाउन नसकेको बताए।
स्वास्थ्य पत्रकार मन्चका अध्यक्ष सरोज ढुंगेलले नेपाली औषधि उद्योगलाई सक्षम बनाउन सरकार प्रतिबद्ध हुनुपर्ने बताए। उनले औषधि उद्योगले भोगिरहेका समस्या र चुनौतीहरु अनेक भएकाले उद्योगी र सरोकारवाला निकायहरु एकै ठाउँमा बसेर यस क्षेत्रका विकासबारे छलफल गरी उद्योगीका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।