काठमाडौं- दादुरा आउटब्रेक! आउटब्रेक अर्थात् महामारी। कुन अवस्थालाई दादुरा महामारीको रुपमा घोषणा गरिन्छ? भन्ने विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दादुरा निवारण प्रोटोकल नै छ। उक्त प्रोटोकल अनुसार कुनै पनि समुदायमा २८ दिनभित्र पाँच वा पाँचभन्दा बढी बिरामी देखा परेमा दादुरा महामारी घोषणा गरिन्छ।
सोही प्रोटोकल अनुसार गत पुसमा बाँकेको नेपालगञ्जमा दादुरा महामारीको घोषणा गरिएको थियो। पाँच वटा नमूनामध्ये चार जना बिरामीमा दादुरा पुष्टि भएपछि पुसको तेस्रो साता सरकारले बाँकेमा दादुराको आउटब्रेक अर्थात् महामारी भएको घोषणा गरेको थियो।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार हालसम्म १६ वटा जिल्लामा गरी ९५१ जना दादुराका बिरामी भेटिएका छन्। दादुरा देखिएका जिल्ला हुन्, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सर्खुेत र काठमाडौं।
यी १६ जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै बिरामी पुष्टि भएका थिए। बाँकेमा मात्र ३२९ जना बिरामी भेटिएका थिए। जसमध्ये एक जनाको मृत्यु पनि भएको थियो।
महोत्तरीमा १०५, सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषा र कपिलवस्तुमा २३/२३, बाजुरमा १८, अर्घाखाचीमा ११ र काठमाडौंमा ४ जनामा दादुरा पुष्टि भएका छन्।
दादुरा रुबेला विरुद्धको खोप ९ र १५ महिनामा लगाउनुपर्छ। पहिलो मात्रा ९ र दोस्रो मात्रा १५ महिनामा लगाउनुपर्छ। सरकारले यो खोप निःशुल्क रुपमा उपलब्ध गराउँछ। दादुराबाट बच्न खोपको दुवै मात्रा पुरा गर्नुपर्छ।
९५१ जनामध्य अधिकांशले खोप नलगाएका र मात्रा पुरा नगरेका बालबालिकामा दादुरा देखिएको खोप शाखामा जनस्वास्थ्य अधिकृत बसन्तकुमार श्रेष्ठले बताए। दादुरा रोग अत्यन्तै संक्रामक भएकाले यसबाट बच्न खोपको दुवै मात्रा पुरा गर्नुपर्ने श्रेष्ठले बताए।
उनले भने, ‘यो दादुरा एकदमै संक्रामक हुन्छ। कोभिडभन्दा पनि पाँच गुणा बढी संक्रामक हो। एक जनाले १८ जनासम्मलाई सार्न सक्छ।’
दादुराको खोप भण्डारण गर्दा र लगाउँदा तापक्रमलाई मिलाउन नसक्दा पनि खोपले राम्रोसँग काम नगर्ने उनले बताए। यस्तै प्राविधिक समस्याले गर्दा खोप लगाएका बालबालिकामा पनि दादुरा देखिने गरेको उनले बताए।
दादुरा पुष्टि भएका कुल बालबालिकामध्ये २३ महिनाभन्दा माथिका ७८ प्रतिशत अर्थात् ७३८ जना रहेको महाशाखाको तथ्यांक छ। ९ महिनाभन्दा मुनिका ९७ (१०.२५ प्रतिशत) र ९ देखि २३ महिनाका १११ (११.७३ प्रतिशत) बालबालिका छन्।
कुन जिल्लामा कुन उमेर समूहका बालबालिकाहरु कति छन् भनेर स्पष्ट हुन यो चार्ट हेरौँ :
काठमाडौंमा पनि देखियो दादुरा
१५ जिल्लामा सीमित रहेको दादुरा संक्रमण हाल काठमाडौंमा पनि देखिएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा दादुरा पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुनाहरुको परीक्षणमा जेठ २५ गतेसम्म चार जनामा दादुरा पुष्टि भएको हो।
दादुरा पुष्टि भएका सबै बिरामीहरु गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयका रहेको महाशाखाले जनाएको छ। विद्यालयमा रहेका ५६० जनामध्ये ६३ जनामा उस्तै खालका लक्षणहरु देखिएको थियो। शंकास्पद बिरामीको संख्या ८ वर्षदेखि ३८ वर्षसम्म रहेको महाशाखाले जनाएको छ।
९ जना बिरामी अस्पताल भर्ना भएकोमा ७ जना निको भइसकेको र दुई जना उपचारको क्रममा छन्।
ज्वरो र विविर भएका शंकास्पद दादुराको बिरामी भएको जानकारी स्वास्थ्य सेवा विभागले जेठ १३ गते प्राप्त गरेको थियो। जानकारी प्राप्त भएपछि गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयमा सक्रिय खोज सुरु गरिएको विभागले जनाएको छ। विभागका अनुसार प्रभावित स्थानमा शंकास्पद बिरामीलाई भिटामिन ए पनि खुवाइएको छ।
दादुराको महामारी फैलिन नदिन सरकारले बिहीबारदेखि दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको छ। सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो।
दादुरा निवारण हुन तीन वर्षसम्म दादुराको शून्य केस रिपोर्ट हुनुपर्छ। तर फैलिदै गइरहेको दादुराको प्रकोपले सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्यलाई अधुरो बनाइदिएको छ।
नेपालले सन् २०१९ भित्र दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो। तर यो रोगको संक्रमणदर बढ्न थालेपछि निवारणको लक्ष्य सन् २०२३ मा सारिएको हो। तर बाँकेमा र अन्य जिल्लामा फैलिएको दादुरा महामारीका कारण यस वर्ष पनि दादुरा निवारण गर्ने सरकारको लक्ष्य पुरा नहुने देखिएको छ।
कसरी फैलिन्छ दादुरा?
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ। दादुरा पाँच वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ। निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ।
दादुरा संक्रमण भएको व्यक्तिले खोक्दा, हाँच्छ्यु गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासनलीबाट वा आँखाबाट सर्न सक्ने कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा राजकुमार बिकले बताए। उनका अनुसार भाइरस ती ससाना फोकाहरु संक्रमित व्यक्तिले बन्द कोठा छाडेको दुई घण्टासम्म पनि जीवित रहनेर सार्न सक्छन्।
भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ र शरीरभरी फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ। दादुराको पहिलो लक्षण भनेको उच्च ज्वरो हो। जुन भाइरसको सम्पर्कमा आएको १० देखि १२ दिनपछि सुरु हुन्छ र ४ देखि ७ दिनसम्म रहन्छ। ज्वरोसँगै बिरामीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने गर्छ।
बिरामीसँग सम्पर्कमा आएको १४ दिनपछि शरीरमा बिमिराहरु देखिन्छ। पहिलो चरणमा गालाभित्र सेतो दाग देखिन्छ। त्यसपछि कानको पछाडी हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरी फैलिन्छ।
दादुरा भाईरसको कारणबाट हुने रोग भएकोले यसको विशेष उपचार छैन। यो अवस्थामा बिरामीमा देखा परेको लक्षणका आधारमा उपचार गरिन्छ। ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्तालागेको पहिलो र दोस्रो दिन गरी दुई मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ। बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा एक/एक मात्रा गरी दुई मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एकमात्र प्रभावकारी उपाय भएको उनले बताए।
उनले भने, ‘दादुरा रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेकै खोप हो। अरुलाई सर्नबाट बचाउन बिरामीलाई कम्तीमा १४ दिनसम्म अलग राख्नुपर्छ।’
यो पनि:
कोभिडभन्दा तीव्र फैलने र मृत्युदर बढी भएको दादुरा के हो? कसरी जोगिने?