काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
शनिबार राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
देशका मध्य तथा पश्चिमि तराईमा भने शनिबार पनि तापक्रम नघट्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य तथा पश्चिम तराईमा तातो हावा, लू चलिरहने देखिन्छ।