काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन भएको छ।
प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका हुन्। सदस्यहरुमा राष्ट्रिय योजना आयोगका स्वास्थ्य हेर्ने सदस्य र स्वास्थ्य मन्त्रालयका सचिव रहेका छन्।
उक्त कमिटीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिस गर्ने छ। कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वानसमेत गरिसकेको छ। इच्छुक व्यक्त्लिे सात दिनभित्र मन्त्रालयमै वा इमेल ठेगाना [email protected] मा आवेदन दिन सक्नेछन्।
निवेदनसँगै विस्तृत कार्ययोजना, अनुभव खुल्ने व्यक्तिगत विवरण, काउन्सिलको दर्ता तथा नविकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्ने छ।
हाल प्राडा भुपेन्द्र बस्नेत न्याम्सको निमित्त उपकुलपति छन्।