काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ मा चार जना बालबालिकामा दादुरा पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुनाहरुको परीक्षणमा चार जनामा दादुरा पुष्टि भएको हो।
दादुरा पुष्टि भएका सबै बिरामीहरु गोकर्णेश्वर नगरपालिका वडा नं स्थित ९ जोभो कदम्पा विद्यालयका रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। विद्यालयमा रहेका ५६० जनामध्ये ६३ जनामा उस्तै खालका लक्षणहरु देखिएको थियो। शंकास्पद बिरामीको उमेर ८ वर्षदेखि ३८ वर्षसम्म रहेको महाशाखाले जनाएको छ।
९ जना बिरामी अस्पताल भर्ना भएकोमा ७ जना निको भइसकेको र दुई जना उपचारको क्रममा छन्।
ज्वरो र विविर भएका शंकास्पद दादुराको बिरामी भएको जानकारी स्वास्थ्य सेवा विभागले जेठ १३ गते प्राप्त गरेको थियो। जानकारी प्राप्त भएपछि गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयमा सक्रिय खोज सुरु गरिएको विभागले जनाएको छ। विभागका अनुसार प्रभावित स्थानमा शंकास्पद बिरामीलाई भिटामिन ए पनि खुवाइएको छ।