धनगढी - सुदूरपश्चिम प्रदेशमा दादुरा रुवेला निवारणमा चुनौती थपिएको छ। प्रदेशमा सन् २०२२ भन्दा सन् २०२३ मा दादुरा रुवेलाका बिरामी पुष्टि भएसँगै निवारणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरु बताउँछन्। सरकारले सन् २०२३ मा दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिएपनि प्रदेशका तीन जिल्लामा यस वर्ष दादुरा रुवेलाका बिरामी थपिएका छन्।
प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा रुवेलाका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। प्रदेशमा सन् २०२३ को अप्रिलसम्म १ सय २३ जना शंकास्पद बिरामीको परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एक जना रुवेलाका बिरामी फेला परेका छन्।
सन् २०२३ अप्रिसम्ममा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुवेलाका बिरामी फेला परेका छन्। प्रदेशमा पुष्टि भएकामध्ये अधिकांश एक वर्षमाथि उमेर समूहको रहेको जनाइएको छ। बाजुरामा पुष्टि भएका १८ जना २३ महिना माथिका छन्। कैलालीमा नौ महिनाका सात, २३ महिनाका ६ र २३ महिना माथिका ३४ जना छन् भने कञ्चनपुरमा पुष्टि भएका दुई जना नौ महिना, पाँच जना २३ महिनासम्मका र २६ जना २३ महिनामाथिको रहेको निर्देशनालयको तथ्यांक छ।
सन् २०२२ मा एक सय चार जना शंकास्पद बिरामीको परीक्षण गर्दा तीन जनामा दादुरा र दुई जनामा रुवेला पुष्टि भएको थियो। प्रदेशमा धमाधम दादुरा रुवेलाका पुष्टि भएसँगै सरकारले सञ्चालन गरेको नियमित खोप अभियान प्रभावकारितामा नभएको स्वास्थ्यकर्मीहरु बताउँछन्।
दादुरा रुवेलाका पेन्टा–१, एमआर १ र एमआर २ खोप हुन्। निर्देशनालयले कैलालीको उदाहरण देखाउँदै पेन्टा–१ लगाउने भन्दा एमआर २ खोप लगाउने संख्या न्यून रहेको छ। आर्थिक वर्ष २०७८/२०७९ मा पेन्टा–१ खोप लगाउने प्रतिशत एक सय सात रहेकोमा एमआर–२ लगाउने प्रतिशत ९९ रहेको छ।
बाल कल्याण महाशाखाका भरत भण्डारीले भने ‘स्वास्थ्य कार्यालयको तथ्यांकमा खोप प्रतिशत पूर्ण भएको देखिन्छ तर स्वास्थ्य तथा जनसंख्यक सर्वेक्षणले अझै पनि बालबालिकाले पूर्ण खोप पाएको देखिदैन। यसमा स्वास्थ्यकर्मी, सरोकारवाला सम्पूर्णको कमी कमजोरी देखिन्छ।’
उनले नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको बताए। उनले नियमित खोपमा ९५ प्रतिशत भन्दा कमले लगाउनुपर्ने, सबै तहमा एकरूपता नहुनु, क्रियाकलाप सञ्चालनमा प्रभावकारिता नहुनु, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुनु लगायतका प्रमुख समस्या रहेको बताए।
उनले दादुरा रुवेला खोप अभियान सञ्चालनमा प्रभावकारिता नहुँदा सरकारलाई आर्थिक भार बढीरहेको बताए। उनले भने ‘अभियानले राष्ट्रलाई थप आर्थिक व्ययभार भैरहेको छ। एक अभियानमा करिव एक अरव ५० करोड भन्दा धेरै लगानी हुन्छ।’
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको रोग रोकथाम तथा नियन्त्रणको लागि दादुरा प्रकोप जिल्लाहरूमा दादुरा रूवेला खोप अभियान सञ्चालनको लागि अभिमुखिकरण तथा योजना गोष्ठीमा कैलाली सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सम्बन्धित निकायको सानो लापरबाहीले राज्यको ठुलो लगानीको प्रगति पनि नदेखिएको बताए। उनले अरुलाई दोषी देखाएर कसैले पनि जिम्मेवारीबाट उन्मुक्ति हुन नपाउने बताए।
उनले भने ‘खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यका कर्मचारीहरुले सबै तहसँग समन्वय गरेर अघि बढ्नुपर्ने जरुरी छ।’ उनले अभियानलाई प्रभावकारी बनाउन प्रशासनले कुनै कसर बाँकी नराख्ने बताए।