काठमाडौं - नेपाल स्वास्थ्य व्यवसायी परिषदको छैठौँ प्रमाण पत्र तह (पिसिएल) को नाम दर्ता परीक्षामा ५० दशमलव ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
परिषदले शनिबार लिएको लाइसेन्स परीक्षामा सहभागी २ हजार ९२५ जनामध्ये १ हजार ४७६ अर्थात् ५० दशमलव ४६ प्रतिशत उत्तीर्ण भएका हुन्। अकुपञ्चर, अकुप्रेसर एण्ड मोक्जीबस्टन र फिजियोथेरापी बाहेक अन्य विषयमा ४० प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको परिषदका रजिष्ट्रार लिलानाथ भण्डारीले जानकारी दिए।
अकुपञ्चर, अकुप्रेसर एण्ड मोक्जीबस्टनमा सहभागी ६ जना नै अनुत्तीर्ण भएका छन्। अप्टोमेट्रीमा सहभागी ८६ जनामध्ये ६ जना (६.९८ प्रतिशत), फिजियोथेरापीमा सहभागी २२ जनामध्ये ८ जना (३६.३६ प्रतिशत) उत्तीर्ण भएको परिषदले जनाएको छ।
डेन्टल साइन्समा ४९ दशमलव ४४, रेडियोग्राफीमा ४४ दशमलव ३६, डायलाइसिस टेक्नोलोजीमा १००, जनरल मेडिसिनमा ४१ दशमलव ९९, मेडिकल ल्याब्रोटरी टेक्नोलोजीमा ६७ दशमलव ७३, ओटी टेक्नोलोजीमा ५३ दशमलव ३३ प्रतिशत उत्तीर्ण भएका छन्।