काठमाडौं- सरकारले देशको पुरानो वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई छुट्याउन लागेको छ। संसद् सचिवालयमा दर्ता भएको 'केही नेपाल ऐन संशोधन विधेयक' मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ मा संशोधन गर्दै वीर अस्पताल र न्याम्सलाई छुटयाउन लागेको हो।
विधेयकमा न्याम्सले शिक्षण अस्पतालका लागि आफ्नो छुट्टै अस्पताल स्थापना गर्न सक्ने वा कुनै सरकारी केन्द्रीय अस्पतालसँग द्विपक्षीय सम्झौता गर्न सक्ने व्यवस्था राख्न लागिएको छ। यस्तै न्याम्स ऐनको दफा १४ मा रहेको अस्पतालको स्थापना र सञ्चालनसम्बन्धी व्यवस्थाको उपदफा २ मा रहेको न्याम्सको अस्पतालका रुपमा वीर अस्पताललाई मानिनेछ भन्ने व्यवस्था हटाएको छ।
'प्रतिष्ठानबाट हुने अध्यापन तथा अनुसन्धानको लागि आफ्नै वा नेपाल सरकारको अस्पताल मार्फत गर्न सक्ने व्यवस्था गर्न आवश्यक भएकाले,' विधेयकमा उक्त व्यवस्था संशोधन गर्नुपर्ने कारण खुलाउँदै उल्लेख गरिएको छ।
यो व्यवस्था कार्यान्वयनमा आएसँगै वीर अस्पताल सरकारको केन्द्रीय अस्पतालका रुपमा रहने छ भने न्याम्सलाई छुट्टै अस्पताल स्थापना गर्न बाटो खुला हुनेछ। अस्पताल स्थापना भएर सञ्चालनमा नआएसम्मका लागि न्याम्सले वीर अस्पतालसँग सम्झौता गरेर शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न सक्नेछ।
वीर अस्पताललाई न्याम्सबाट छुट्याउने माग लामो समयदेखि हुँदै आइरहेको थियो।
हेरौं विधेयकमा संशोधनका लागि प्रस्ताव गरिएको व्यवस्था