काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा औषधिको आयात घटेको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा औषधिको आयात घटेको देखाएको छ।
यस्तै व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड - १९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ चैत मसान्तमा ६५ करोड ८७ लाख बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेकोछ। यस्तै आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको बैंकले जनाएको छ।
रिपोर्टमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको उल्लेख गरिएको छ। यसैगरी शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडले बचतमा रहेको पनि रिपोर्टमा उल्लेख छ।
यस्तै ९ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति रु.१४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ भने संघीय सरकारको खर्च रु.९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८१ करोड रहेको छ। यस्तै विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ। जसमा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ।