काठमाडौं- सरकारले स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य कर कोष सचिवालयले यही मे ३१ तारिखमा पर्ने विश्व धूम्रपान रहित दिवसको अवसरमा पुरस्कार प्रदान गर्न लागेको हो।
सचिवालयले पुरस्कारका लागि आवेदन माग गरेको छ। सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार विभिन्न ६ वटा विधामा उक्त पुरस्कार प्रदान गरिने छ। सचिवालयले चार वर्षपछि पुरस्कार प्रदान गर्न लागेको हो।
यसअघि २०७६ सालमा पहिलो पटक ६ वटा विधामा पुरस्कार प्रदान गरिएको थियो। उक्त समयमा व्यक्ति तथा संस्थाले जनही ५० हजार रुपैयाँका दरले यो पुरस्कार प्राप्त गरेका थिए।
सचिवालयले बुधबार जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थको आयात उत्पादन विक्री वितरण तथा सेवन कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुरयाउने व्यक्ति संघ संस्था कानून कार्यान्वयन नर्गे निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्येबाट ६ जनालाई पुरस्कार दिईने उल्लेख छ।
पुरस्कार पाउनेमा यस क्षेत्रमा सक्रिय व्यक्ति /पत्रकार, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारी रहेका छन्। पुरस्कारका लागि प्रतिस्पर्धा गर्न चाहनेले आगामी ५ जेठ भित्र आफूले पुर्याएको योगदानको विवरण सहित आवेदन पेश गर्न भनिएको छ।
नेपालले सन् २०१५ मा चुरोट लगायतका सूर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटका ९० प्रतिशत भागमा चेतावनीमुलक चित्रात्मक सन्देश राख्नुपर्ने नियम बनाएको थियो। सोही व्यवस्थापछि नेपालले एक लाख डलर अर्थात एक करोडभन्दा बढी नेपाली रुपैयाँको ब्लुम्बर्ग फिलान्थेपिक अवार्ड पाएको थियो। उक्त अवार्डबाट प्राप्त रकमलाई नै नेपालमा पनि पुरस्कारकै रुपमा नियमित प्रदान गर्ने मन्त्रालयले निर्णय गरेको थियो।
हेरौं सूचना